२८ बैशाख, जुम्ला । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताएका छन्।
कर्णालीका कार्यकर्तासंगको भेटघाटमा जुम्ला पुगेका अध्यक्ष बिजुक्छेले ‘चीनबारे हाम्रो विचार’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा यो कुरा बताए ।
उनले भने, केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि परेको हो । राज्यले यहाँको खास आवश्यकता, हावापानी, माटो, भूगोल र हिमाली भेकको अनुकूलित आर्थिक वर्षसँग अहिले पनि चासो दिएको छैन, जसको कारण यस क्षेत्रको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ, उनले थपे ।
अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन दिए ।
त्यसैगरी, उनले देशको कूटनीतिक मर्यादा विपरीत क्रियाकलाप गर्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नुपर्ने धारणा राखे । राजदूत कुनै पार्टीको कार्यकर्ता नभई नेपालको प्रतिनिधि भएकाले सरकारको कामलाई भारतका उच्च अधिकारीसामु पुर्याउनु हो, पार्टीको अभिव्यक्ति नभई सिङ्गो नेपाली जनताको भावना बोल्न सक्नुपर्छ, उनले भने।
अध्यक्ष बिजुक्छेले एक अर्को प्रसङ्गमा नाकाबन्दीको सम्पूर्ण जिम्मेवारी मधेसवादी दलले लिनुपर्ने बताए । उनले नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ भने । मधेसवादी दलले नाकाबन्दी र आन्दोलनका नाममा भ्रष्टचारी र कालोबजारीलाई संरक्षण गरेको भन्दै यस्ता कुकृत्य विरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
मूलतः मधेसवादी दलका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उनको दोषारोपण थियो ।
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । २८ बैशाख २०७३, मंगलवार ०५:३२ बजे