एनसेलले २०१६ मा १२ अर्ब लगानी गर्ने


download (1)२८ बैशाख, काठमाडौं । एनसेलले २०१६ मा करिब १२ करोड अमेरिकी डलर (झन्डै रु १२ अर्ब) दूरसञ्चार पूर्वाधार विकासमा लगानी गर्ने घोषणा गरेको छ । यो एनसेलको हालसम्मकै उच्च वार्षिक लगानी हो ।

“२०१६ का बाँकी महिनामा हामी झन्डै १२ करोड अमेरिकी डलर लगानी गर्ने छौं । नेपाली जनतालाई दीर्घकालसम्म सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य बमोजिम यो लगानीे नेपालको लागि महत्वपूर्ण रहेको दूरसञ्चार पूर्वाधारको विकासमा जाने छ । जसले उत्कृष्ट नेटवर्क तथा गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने ।

एनसेलको यो घोषणाले कम्पनीको दूरसञ्चार क्षेत्रमा आक्रामक रुपमा लगानी गर्दै आफ्ना ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्घतालाई पुष्टि गरेको छ ।

१२ अर्ब रुपैयाँको महत्वाकांक्षी योजना अन्र्तगत एनसेलले देशका ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गर्दै दूरसञ्चार सेवाबाट वञ्चित समुदायमा पहूँच बढाउँदै नयाँ नयाँ अवसरहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै, शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डेटा सेवा प्रदान गर्नेछ ।

हाल एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रमा आफ्ना ग्राहकहरुलाई २१ एमबी प्रति सेकेन्डसम्मको डेटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकीकरण गर्दै लैजाने लक्ष्य राखेको छ ।

“हामी ग्रामिण र दुर्गम क्षेत्रमा आक्रामकरुपमा थ्रीजी सेवा विस्तार गर्ने छौं । हालसम्म एनसेल नपुगेको नयाँ शहरहरु र गाउँ विकास समितिलाई हामीले यो वर्ष २ सय १३ वटा नयाँ साइटहरु सञ्चालनमा ल्याई मोवाइल नेटवर्कमा जोड्नेछौं,” पर्किन्स्ले भने । यस बाहेक एनसेलले सेवा उपलब्ध रहेको ठाँउमा पनि थप २ सय १४ वटा नयाँ साइटहरु स्थापना गरी सेवाको गुणस्तर बढाउने छ । हाल एनसेलको थ्रीजी सेवा ६३ जिल्लामा पुगेको छ ।

एनसेलको हाल काठमाडौं, पोखरा, हेटौंडा र विराटनगरमा डेटा सेन्टर रहेको छ । यी मध्ये पोखरा र हेटौंडाका डेटा सेन्टर कन्टेनराईज्ड रहेका छन्, जुन भूकम्प प्रतिरोधात्मक रहेको छ । अति प्रभावित हुँदा पनि एक घण्टा भित्र सञ्चालनमा आउन सक्छ ।

“हामी देशभर नै दरिलो नेटवर्क बनाउन तथा ग्रामिण क्षेत्रमा पनि मोवाइल ब्रोडव्यान्ड पु¥याउन कटिबद्ध छौं,” पर्किन्सले भने । “हामी नियामक निकाय तथा सरकारसँग सहकार्य गर्दै नेपाली जनताको लाभका लागि आईसीटी क्षेत्रसँग सम्बन्धित राष्ट्रिय लक्ष्यहरु प्राप्त गर्न काम गर्ने छौं, जसले शिक्षा, स्वास्थ तथा मोवाईल फाईनान्सियल सेवा लगायतका क्षेत्रमा तुरुन्त सकारात्मक योगदान पु¥याउन सक्छ,” उनले भने ।

साभारः बाह्रखरी अनलाइन