२८ बैशाख, खुल्ला आकासमुनि पालमा बसिरहेका भूकम्प पिडीतहरुका लागी सामूहिक आवास निर्माणको काम आगामी जेठको पहिलो साताबाट सुरु गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
यसअघि सरकारले अस्थायी टहरामा बसिरहेका त्यस्ता पिडीतहरुका लागि वर्षा अगावै त्यस्ता आवासमा सार्ने बताएको थियो।
त्यसका लागि हाल भूकम्प प्रभावित जिल्लाहरुमा आवासको आवश्यकता पहिचान गर्ने काम भइरहेको पूनर्निर्माण प्राधिकरणका अधिकारीहरुले बताएका छन्।
जिल्लामा रहेका दैवी प्रकोप उद्धार समितिहरु मार्फत अस्थायी सामूहिक आवास निर्माण गर्ने आवश्यकता पहिचान गरी चार दिन भित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताइएको छ।
निर्माण
उक्त प्रतिवेदन आएपछि अस्थायी आवास बनाउन थालिने प्राधिकरणका प्रवक्ता राम थपलियाले बताए।
उनले भने,”जेठ ७ गतेबाट काम शुरु गर्ने भन्ने छलफल भएको छ। असाध्यै अमानविय अवस्थामा पीडितहरु बसिरहेका छन् भने सरकारले त्यस अगाडी नै सोच्ने सक्ने भन्ने कुरा भएको छ।”
सुरक्षा अंगका निकायहरु र सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरु बसेर उक्त निर्णय गरिएको प्राधिकरणले बताएको छ।
आवास
अस्थायी आवास बाहेक दिर्घकालिन स्वरुपको सामूहिक आवास निर्माणको काम भने शहरी विकास मन्त्रालय अन्तर्गत गठित केन्द्रिय आयोजना कार्यान्वयन निकायले गरिरहेको छ।
उक्त योजना अन्तर्गत भूकम्प पीडित क्षेत्रहरुमा १ सय वटा सामूहिक आवास बनाउने काम थालनी भइरहेको योजना कार्यान्वयन निकायका निर्देशक शिवहरी शर्माले बताए।
उनले भने,”थुप्रै जिल्लाहरुमा टेन्डरको काम शुरु भइसकेको छ। जिल्ला दैवि प्रकोप उद्धार समितिले कुन स्थानमा बनाउने हो त्यो निर्णय गर्नेछ। त्यस्ता आवासको प्रयोग लामो समय गरिनेछ।”
यसअघि जाडो याममा हिमाली जिल्लाहरुमा ५० वटा सामुदायिक आवास बनाउने निर्णय भएपनि आवश्यक बजेट निकासा नहुँदा उक्त योजना बिचमै तुहिएको थियो।
साभारः विविसी



Prawash Kumar Shakya । २८ बैशाख २०७३, मंगलवार १३:५५ बजे