काठमाडौं— एचपी ग्यासको सिलिन्डर विस्फोट हुँदा पाटनमा तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै सुगम ग्यासको सिन्डिर विस्फोट भएर अर्का एक जनाको मृत्यु भएको छ। सुगमको सिन्डिर विस्फोट हुँदा मंगलबार घाइते भएका एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।शरीरको अधिकांश भाग जलेपछि कीर्तिपुर अस्पताल भर्ना भएका विभु पण्डित, २५ को उपचारका क्रममा मृत्यु भएको हो।
पण्डित मंगलबार कालीमाटीस्थित घरेलु प्रविधिबाट चटपेटे बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थिए। शरीरको अधिकांश भाग जलेको अवस्थामा उनलाई कीर्तिपुर अस्पताल अन्तर्गतको नेपाल क्लाफ्ट एन्ड बर्न सेन्टर पुर्याइएको थियो।
शरीरको धेरै जसो भाग जलेकाले बचाउन नसकेको अस्पतालले जनाएको छ। ‘शरीरको साठी प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा ल्याइपुर्याइएको थियो’, अस्पतालका बर्नप्लास्टिक सर्जन डा. विशाल कार्कीले नागरिकन्युजसँग भने, ‘धेरै भाग जलेकाले अस्पताल ल्याउँदा नै पेसेन्टको अवस्था गम्भीर थियो। हामीले धेरै प्रयास गर्यौं तर सकेनौं।’
भारतको बिहार घर भएका पण्डित कालिमाटीमा चटपटे व्यवसाय गर्दै आएका थिए।
टेकूस्थित सुगम ग्यासको डिपोबाट लगेको सिलिन्डर मंगलबार बिहान विस्फोट भएको थियो। सिलिन्डर विस्फोट हुँदा पण्डित सहित ७ जना घाइते भएका थिए। अन्य घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जेठको पहिलो साता ललितपुरको मंगलबजारमा एचपी ब्रान्डको ग्यास सिलिन्डर विस्फोट हुँदा सुरेश ताम्राकार, ध्रुव र राजेश ताम्राकारको मृत्यु भएको थियो। विस्फोटमा परी दुई जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा मृत्यु भएको थियो। सो घटनापछि मृतकका आफन्त सहित स्थानीयले ग्यास उद्योगलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए।
सिलिन्डर विस्फोट छानवीन गर्न मन्त्रीको निर्देशन
ग्यास सिलिन्डरको सुरक्षामा गम्भीर प्रश्न उठेका बेला काठमाडौंमै सिलिन्डर विस्फोटबाट थप एकको मृत्यु भएको हो। कालिमाटी घटनाको अनुसन्धान गर्न आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति व्यवस्था विभागलाई निर्देशन दिएका छन्। घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिएको मन्त्री पुनले बताए।
‘कालीमाटी घटनाको बास्तविकता पत्ता लगाउन भनेका छौं’, मन्त्री पुनले भने,’उपभोक्तको सुरक्षामा सरकार सम्वेदनशील छ।’
ग्यास सिलिन्डरको गुणस्तरको विषयमा पटक—पटक कुरा उठे पनि उद्योगी, नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायतका निकायले दायित्व पूरा नगरेको आरोप लाग्दै आएको छ। ग्यास उद्योगले नियमानुसार हाइड्रोलिक टेस्ट नगरेका घटना बारम्बार दोहोरिने गरेका छन्। समयमा हाइड्रोलिक टेष्ट, भल्ब, रेगुलेटर, सिलिन्डर कमसल भएको कारण दुर्घटना हुनेगरेको यो क्षेत्रमा काम गर्नेहरु बताउँछन्।
नियमअनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। नेपाल गुणस्तर तथा नापतौल विभाग रोहवरमा टेस्ट गर्नुपर्छ। अधिकांश उद्योगले त्यसो गरेका छैनन्।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २ असार २०७३, बिहीबार १०:१९ बजे