महाकाली अञ्‍चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द भएको छ । शनिबार राति अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालको सुत्केरी वार्डमा तोडफोड भएको विरोधमा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक सेवा बाहेकका सबै सेवाहरु आइतबार बिहान देखि बन्द गरेका हुन् ।

शनिबार बेलुका सुत्केरी गराउन ल्याइएकी एक महिलाले बच्चा जन्माउने क्रममा उनको बच्चाको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको तथा अस्पतालमा तोडफोड समेत गरेको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलमा उत्रेका हुन् ।

शनिबार बेलुका अस्पतालमा सुत्केरी हुन आएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी एक महिलाले बच्चा जन्माउने क्रममा बच्चाको मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन् । चिकित्सकको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको उनीहरुको आरोप छ तर चिकित्सकले भने कुनै लापरबाही नभएको बताएका छन् ।

‘सुरुमा पाठेघरको मुख पुरै खुलिसकेको थिएन्, बच्चाको टाउको बर्थिङ क्यानलमा पुगेर अड्कियो’ उपचारका क्रममा पुगेका चिकित्सक डा. सत्य कोइरालाले भने,‘ त्यो अवस्थामा कि त महिलाले नै प्रेसर दिनुपर्छ नभए टाउकोमा भ्याकुम लगाएर बच्चा निकाल्नुपर्ने हुन्छ’ । उनले टाउँकोमा भ्याकुम लगाएर बच्चा निकालेपछि चेकजाँच गर्दा मृत्यु भइसकेको बताए ।

उनका अनुसार बच्चाको टाउको बर्थिङ क्यानलमा अड्किएपछि बच्चाले दिशा गरेको र सोही दिशा नाक, मुख हुदै फोक्सो सम्म पुगेकाले बच्चाको मृत्यु भएको हुन सक्ने बताए । सुरुमा सुत्केरी व्यथा लागेपछि ल्याउदा चिकित्सकले शिशु र महिलाको अवस्था सबै राम्रो छ भने’ सुत्केरी हुन आएकी सरस्वती विष्टकी सासु कमला विष्टले भनिन्,‘पछि चिकित्सकहरुले यस्तो समस्या रैछ र बच्चाको मृत्यु भयो भने’ ।

साभारः अन्नपूर्ण पोष्ट ।