
सुर्खेत, २९असोज ।
तिहार नजिकिदै गर्दा गुर्भाकोट नगरपालिकाका लाले बादीलाई मादल बनाउन भ्याइ नभ्याई हुन्थ्यो । नयाँ मादल बनाउने कोही पुरानालाई सुधार गर्ने त कुनै गाउँमा बजाउनको लागि निम्तो पनि आउँथ्यो । त्यतिबेला मादलको घनघनाट आवाजले बादी बस्तीमा नै छुट्टै रौनक छाएको हुन्थ्यो ।
तर पल्लिो समय बादी बस्ती सुनसान छ । नत यहाँ मादलको आवाज सुन्न पाइन्छ बिग्रिएको बनाउने र नयाँ किन्नेके चहलपहल नै । ‘बस्तीमा मादल बनाउन दिन कोही आउँदैनन्’ मादल बनाएर गुजरा चलाउँदै आएका सो बस्तीका लाले बादी भन्नुहुन्छ ‘अब त मादलमा माकुराले जालो लाइसक्यो’ आधुनिक प्रविधिको विकासले मादलको जमना गइसकेको उहाँको भनाई छ ।
पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम होस् नयाँ युवा पुस्ताहरु डेग र क्यासेटमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने सिंगारु, झ्यारे र सोरठी जस्ता नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, रिमिक्समा नाचले मादल लोप हुँदै गएको छ ।
नयाँ आधुनिक प्रविधिको प्रयोगसँगै यहाँका बादी समूदायको मादल बनाउने पेशा ओझेलमा परेको छ । दिनभरी गाउँमा डुलेर मादल बनाई जिविका चलाउँदै आएका बादी समूदाय अहिले चिन्तामा छन् । आधुनिक प्रविधिको कारणले मादल लोप हुन थालेको सोही बस्तीका ५२ वर्षीया पुतली बादी बताउँनुहुन्छ ।
‘पहिले दिनमा दुई तिनवटा सम्म नयाँ मादल बिक्री हुन्थ्यो अहिले १० दिन डुलेपनि एउटा पनि धौ धौ बिक्री हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘पुराना मादल त बनाउनै हुनै छोडे ।’ अहिले पुतली बादीलाई गाउँमा मादल लगेर जान मन लाग्दैन ।
‘उहिले मादल बिग्रिएको सपार्न बोलाउँथे र कसैले दाल, तरकारी र चामल दिने गर्थे, कसैले पैसा दिने गर्थे अनि साँझ बिहानको छाक जुटाउन सजिलो हुन्थ्यो ।’ पुतली बादी भन्नुहुन्छ ‘अहिले त कसैले हेर्देनन् ।’ मादल बनाउने र नयाँ किन्ने मात्र होइन चाँडबाडको बेलामा गाउँमा सबै जम्मा भएर मादल बजाउन लगाउने र पुराना भाकामा नाच्न पनि छोडेको उहाँले बताउनुभयो । ‘चाडपर्वको बेला गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर मादल बजाउन लगाउँथे र रमाइलो गर्थे अनि हामीलाई पैसा दिन्थे’ विगत सम्झदै भनिन्, ‘अहिले त मादलको कुनै महत्व नै मान्दैनन् ।’ अहिले समूदायमा विरलै मात्रामा मादलको माग हुने गरेको सोही समूदायकी बकुला बादको भनाई छ ।
साभारः देउती खबर ।
Milan Shrestha । २९ आश्विन २०७४, आईतवार ११:०१ बजे