शिक्षकलाई मन्त्रीको प्रश्न : पढाउने कि राजनीति गर्ने ?


८ साउन, सप्तरी ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरु राजनीतिक दलको नेता बन्न खोज्दा शिक्षाको गुणस्तर खस्किएको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले भने ‘शिक्षकको पहिचान परिवर्तन हुनु जरुरी छ, म यो राजनीतिक दलमा, यो ट्रेड यूनियनमा भन्ने पहिचान हटाउनुपर्छ ।’

उनले राजनीति गर्ने कि कक्षाकोठाभित्र केन्दि्रत हुने ? भन्दै शिक्षकहरुसँग प्रश्न गरे । ‘अब शिक्षकको सूचक विद्यार्थीलाई कसरी पढाउँछन्, विद्यालयमा कति समय दिइरहेका छन् त्यसले निर्धारण गर्छ’ उनले भने ।

अहिलेका कतिपय शिक्षक शिक्षकजस्तो नभएको बताउँदै मन्त्री पोखरेलले योग्य शिक्षक नभएकै कारण शिक्षाको स्तर खस्किरहेको बताए ।

उनले जनप्रतिनिधिहरुले पनि कुनै व्यक्ति जागिर नपाएपछि शिक्षक बनाउने विगतको जस्तो प्रथालाई निरन्तरता दिए शिक्षा झन् बर्बाद हुने बताए ।

जुम्लामा सामान्य बल प्रयोगमात्रै

मन्त्री पोखरेलले डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सामान्य बल प्रयोगमात्र भएको बताएका छन् । उनले हुदै नभएको कुरा सञ्चार माध्यममा आएको भन्दै असन्तुष्टी जनाए ।

केसीलाई लिन गएको प्रदेश सरकारको टोलीलाई अवरोध गरेपछि प्रहरीले सामान्य बल मात्रै प्रयोग गरे पनि मिडियाहरुले गोली चलेको, दमन गरेको जस्ता उत्तेजित शब्दहरुको प्रयोग गरेको उनको गुनासो छ ।

मन्त्री पोखरेलले भने, ‘मिडियाले भ्रमपूर्ण तरिकाको समाचार लेखेका छन्, भएको घट्नाक्रमलाई समेटिनुपर्नेमा समेटिएको छैन ।’

प्रदेश सरकारको टोली डा. केसीलाई ल्याउन जाँदा चिकित्सकहरु जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ताला लगाएर बसेका कारण प्रहरीले सामान्य बल प्रयोग गरेकोे मन्त्री पोखरेलले दावी गरे ।

उनले केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा सरकारले थोरै परिमार्जन गरेको बताए । यद्यपी मन्त्री पोखरेलले डा. केसीको सुझावलाई पनि समेट्न सरकार तयार रहेको बताए । अनलाइनखबरबाट