विपन्न र असहाय बालबालिकालाई डा. के.सी.द्वारा सहयोग


२६ जेठ, सुर्खेत । वीरेन्द्रनगर २ का असहाय बालवालिकाहरुलाई बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । स्थानीय प्रभात मावि कोलडाँडामा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई केसीले झोला र कापि कलम वितरण गर्नुभएको हो ।

बालबालिकाको बारेमा समाचार प्रकाशनमा भएपछि डाक्टर केसीले बालवालिकाहरुलाई सहयोग गर्नुभएको हो । आइतवार एक कार्यक्रमकाबीच विद्यालयका प्रध्यानाध्यापक भीमबहादुर खड्का र डाक्टर केसीले संयुक्त रुपमा शैक्षिक सामग्री प्रदान गर्नुभयो ।

विपन्न र असाहाय बालवालिकाको पढाइलेखाइमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको डाक्टर केसीले बताउनुभयो । ‘गरिवीको कारणले कोही पनि बालवालिकाहरु विद्यालय जानबाट वञ्चित हुन नपरोस्’ उहाँले भन्नुभयो, ‘जसले गर्दा बालवालिकाहरु विद्यालयमा नियमित होउन र सहज तरिकाले पढ्न पाउन भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’ आर्थिक अवस्था कमजोर भएका र बुवा आमा नभएका यस्ता बालवालिका कापिकलम र झोला नलिएरै विद्यालय जाने गरेका थिए ।

बिना पोशाक र कापिकलम विद्यालय आउँदा पढाइलेखाइमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक भीमबहादुर खड्काले बताउनुभयो । जसका कारण उनीहरु विद्यालयमा नियमित हुन समस्या थियो । कतिपय बालवालिका भाइबहिनीको पढाउन आफै नपढेर बसेका छन् । विद्यालयमा अध्ययनरत करिव ५ सय विद्यार्थी नै न्युन आर्थिक अवस्थाका बालवालिका रहेको बताउँदै जसमध्ये एक चौथाई जति बुवाआमा नभएको तथा वुवा वा आमा नभएको रहेको खड्काले जानकारी दिनुभयो ।

अधिकांस दलित समूदायको बसोवास रहेको यस बस्तीमा धेरैजसो बालवालिकाहरु बेसाहारा रहेको स्थानीय अमृता कार्कीले बताउनुभयो । उहाँले बुवाआमा बैदेशिक रोजगारमा जाने र छोराछोरी विचल्लीमा पर्ने गरेको बताउनुभयो । ‘यहाँका धेरैजसो मजदुरी गरेर साँझ विहानको छाक जुटाउन धौ धौ पर्छ’ उहाँले भन्नुभयो, ‘भोको पेटमा यहाँका सबै बालवालिका राम्रोसँग पढ्न पाएका छैनन् ।’ गरिवीको कारण यहाँका बालिकाहरु कलिलै उमेरमा विवाह गर्ने गरेका उहाँको भनाई थियो ।