काँक्रेविहार कालिमाटी थारु होम स्टे सञ्चालनमा (भिडियोसहित)


६ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइलीमा होम स्टे सञ्चालनमा आएको छ ।

२०७४ सालमा स्थापना भएको काँक्रेविहार कालिमाटी थारु होम स्टेको आज वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले पानसमा बत्ती बालेर शुभारम्भ गर्नु भएको हो ।

होम स्टेको शुभारम्भ गर्दै नगरप्रमुख सुबेदीले  वीरेन्द्रनगरको पर्यटक प्रवर्धनमा काँक्रेविहारको छेवैमा सञ्चालनमा आएको थारु होम स्टेले थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले होम स्टे सञ्चालन गर्न कालिमाटीका स्थानीय थारु समुदाय सबैजनालाई लाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “यो होम स्टेमा पर्यटकहरुलाई स्थानीय थारुका परिकार र अर्गानिक खाना मात्र खुवाउनु होला र आफ्नो भाषा संस्कृतिलाई उजागर गर्ने तरिकाले काम गर्नुहोला ।”

कार्यक्रममा होम स्टेका निर्मला चौधरीले थारु भाषाको कला संस्कृति भेषभूषालाई उजागर गरि वीरेन्द्रनगरको पर्यटन प्रवर्धनमा थप टेवा पुर्याउनकालागि काँक्रेविहार कालिमाटी थारु होम स्टेको सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय थारु जातिहरुले सखिया नाँच प्रस्तुत गरेका थिए ।