दिपायल विमानस्थल सञ्चालनमा अाउने, धावनमार्ग कालोपत्रे हुँदै


डोटी । लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थल स्तरोन्नती भइरहेको छ । विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने तयारी गरिएको छ ।

आगामी ०७५ असार मसान्तसम्म पूरा गर्ने गरी भएको ठेक्का सम्झौता भएसँगै विमानस्थल कालोपत्रेको काम सुरु हुन लागेको हो ।

सशस्त्र द्वन्द्वको समयमा विमानस्थल सञ्चालनमा रहँदै आए पनि २०६३ सालबाट यात्रु अभावको कारण देखाइ पूर्ण रूपमा बन्द भएको थियो ।

विमानस्थल स्तरोन्नतीको जिम्मा पाएको सप्ना ग्याल्भा जेभी कन्स्ट्रक्सनका प्रतिनिधि हर्कबहादुर शाहले कटिङ र फिलिङको काम सकिएको र आउँदो पुस १५ गतेदेखि कालोपत्रेको काम सुरु गरिने बताए ।

कम्पनीले ६ करोड ८० लाखमा ठेक्का कवुल गरेको थियो ।

दिपायल बिमान स्थल कालोपत्रे भएपछि नियमित रुपमा हवाई उडान हुने स्थानीयबासीहरुको विश्वास छ ।

दिपायल सिलगढी नगरपालिकाका पूर्व प्रमुख घन्श्याम पाठक भन्छन् ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकहरु भित्राउन सके डोटी लगायतका अन्य जिल्लाहरुको राम्रै विकास हुने छ ।’

पर्यटकीय सम्भावना बोकेको डोटीको खप्तड लगायतका अन्य छिमेकी जिल्लाहरुमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउन यो विमानस्थल निकै सहयोगी हुने होटल व्यवासयी संघ डोटीका अध्यक्ष दिपक खड्का वताउँछन ।

विमानस्थल छिटो सञ्चालन हुने गरि काम हुनु पर्ने उनको भनाइ छ ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थलपछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको डोटीको दिपायल विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई निकै मर्का परेको छ ।

साभारः अनलाइनखबर