वीरेन्द्रनगरमा खानेपानीको अभाव, मुख्य पाइपलाइन मर्मत हुँदै (भिडियोसहित)


२१ श्रावण, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा विगत ६ दिन देखि खानेपानी अभाव हुँदै आएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको उपभोग गर्दै आएका स्थानीयहरुका धारामा नियमित खानेपानी नआएपछि पानीको अभाव भएको हो ।

संस्थाको प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाका बजार क्षेत्र, लाटीकोइली, खजुरा, निमारे, चिसापानी, बांगेसिमल, मुलपानी, तातापानी, लगायतका क्षेत्रमा पानी आपूर्ति गर्ने मुख्य पाइपलाईन भाचिएपछि खानेपानीको अभाव भएको हो ।

संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार वीरेन्द्रनगरको नेवारेमा एक स्थानीयले आफ्नो जग्गा सम्याउने क्रममा पाइपलाइन विग्रदा अहिले वीरेन्द्रनगरका वडा नं. १ र २ त्यस्तै ३ नं. वडाको केही भाग, ५ नं. वडा, ६ नं. वडाको मंगलगढी देखि गणेश चोक सम्मको मुख्य लाइन र ९ नं. वडाको केही भागमा पानी वितरण हुन सकेको छैन् ।

“हामी जति सक्यो चाँडो पानी वितरण गर्ने मान्यताका साथ विग्रिएको पाइपलाईन मर्मतमा लागेको छौं अलि मौसमको कारणले पनि काममा बाधा भैरहेको छ ।” संस्थाका अध्यक्ष कूलमणी देवकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ “मानिसको जीवनमा जोडिएको संवेदनशिल बस्तु पानीका पाइनलाइन आफ्नो जग्गा छ भने संरचना बनाउँदा त्यस तर्फ ध्यानदिन आग्रह गर्दछु ।

विग्रिएको पाइपलाइनबाट पानी सुचारु हुन मौसमले साथ दिएमा भोली साँझ सम्म समय लाग्ने बताइएको छ ।