नयाँ बर्षमा कालिकोटको रास्कोटमा महोत्सव हुने


१३ चैत्र, कालीकोट । कला, सँस्कृति, पर्यटन एवम् औधोगिक बस्तुको प्रवर्धन गर्ने उदेश्यका साथ चार दिने कालीकोट रास्कोट पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । युवा जागरण अभियान कालीकोट र युवा अधिकार वकालत मञ्चको आयोजना तथा कनका सुन्दरी फिल्म प्रा.लिको सह आयोजनामा आगामी बैसाख ४ गतेदेखि ७ गते सम्म महोत्सव सञ्चालन हुने भएको हो ।

निर्माणाधिन रास्कोट क्यापिटल हस्पिटलको सहयोगार्थ, कला सस्कृतिको संरक्षण, पर्यटन तथा औधोगिक बस्तुहरुको उत्पादन एवं प्रवर्धन गर्ने उदेश्यका साथ आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता हुने आयोजक समितिका सदस्य सुरेश शाहीले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु महानायक राजेश हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी, हास्य कलाकार कमल गाउँले, राजाराजेन्द्र पौडेल, देउडा गायक गायिका शुरेस शाही, छाया सुनार, धर्मराज न्यौपाने (शिशिर), छत्र शाही, तिलक बुढा, महेश औजी, रेखा जोशी, बिज्ञान रोकाया, अमर थापा, पुष्पा बोहरा, शोभा थापा, लोक दोहोरी गायक गायिका टीका पुन, राधिका हमाल, पदम रोकाया, आधुनीक गायक धुर्व शाही, डिजराज पौडेल, ललितजंग शाही (सरगम) लगायतका कलाकारहरुको सहभागीता हुने आयोजकले जनाएका छन् ।

महोत्सवमा देउडा सम्राट नेत्रराज शाही ’मौसम’ गजलकार एबम् गीतकार कृष्णराज धमाला, संगितकार, भरतराज बिष्ट, कवी तथा गजलकार प्रकाश बम ’परीश्रमी’ लगाएतको बेजोड प्रस्तुति रहने आयोजक समिति सदस्य प्रकाश सुनारले जानकारी दिनुभयो ।

स्थानिय कलाकारको बिशेष प्रस्तुति (हुड्के नाच, देउडा, झोडा, दमहा, मागल, ठाडीभाका लगायतका प्रस्तुति सँगै सम्भावना भएका श्रस्टालाई संगीत सिक्ने अवसर दिने र एल्बम निकाल्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । कालीकोट जिल्लाकै सुन्दर भूभागले समेटिएका रास्कोट क्षेत्रमा सञ्चालन हुने महोत्सब उदाहरणिय रुपमा सम्पन्न गर्ने आयोजकले दाबी गरेका छन् ।