रुकुम– गत वर्षको तुलनामा यस वर्ष यार्सागुम्बाको मूल्य आधाभन्दा बढीले गिरावट आएको छ। यस वर्ष यार्साको मूल्य घटेर प्रतिकेजी ६ देखि १५ लाख सम्ममा खरिद भइरहेको यार्सा व्यापारिक हेमराज पुनले बताए।
छिमेकी देश तिब्बत, चीन र भारतको उत्तरखण्ड र हिमाचल प्रदेशका विभिन्न जंगलमा यार्सा पाइन थालेकाले यहाँको यार्सा विश्व बजारमा कम खपत हुने गरेको छ। जिल्लाको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलवारी, घोराँह, जंगला थांगे र तकसेरा गाविसका रामाजीमा र तारावाङ भन्ने स्थानमा यार्सा पाइन्छ।
यी स्थानमा पाइने यार्सा अन्य मूलकको भन्दा गुणस्तर हुने गरेको थियो। अहिले यहाँको जस्तै यार्सा भारतमा पाइन थालेपछि विश्व बजार भारतले ओगटेको छ। पहेंलो, फिका पँहेलो, रातो, खैरो र कालो रङका यार्साहरु यहाँ पाइन्छन्। कालो रङको यार्सा कम गुणस्तरको हो भने सबैभन्दा बढि पहेलो रङ भएको यार्सालाई गुणस्तरीय मानिन्छ।
अहिले जिल्लामा जलवायु परिवर्तनसँगै मानवीय चाप बढ्दै जाँदा यार्सा कालो हुँदै गएको स्थानीयहरुले बताएका छन्। यस वर्ष यार्सा पाइने स्थानमा पानी र हिउँ कम परेकाले यार्सा उम्रन नपाएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद बुढाले बताए।
राज्यले समेत यार्सा पाइने ठाउँलाई वेवास्ता गरेकाले यस क्षेत्रलाई संरक्षण गर्नुपर्ने यार्सा संकलकहरु बताउँछन्। गत वर्ष यार्साको मूल्य प्रतिगोटा ५ देखि १२ सय सम्ममा बिक्री वितरण भएको थियो। यस वर्ष २ देखि ५ सय सम्ममा बिक्री वितरण भइरहेको छ कोलका सिर्जन तुलाचनले भने, ‘यस वर्ष यार्साको मूल्य निकै घटेको छ।’ यार्सा कम पाइने र मूल्य पनि कम भएकाले केही यार्सा संकलकहरु घर फिर्ता हुन थालेको उनले बताए।
यार्सालाई घरको मूख्य आम्दानीको स्रोत बनाएका यस क्षेत्रका बासिन्दाहरु यार्सा कम पाइन थालेपछि निराश भएका छन्। गत वर्ष यार्साको मूल्य ठिकै गएको हो अहिलेको यार्सामा फुलेटी परेको, कालो भएकाले कम मूल्यमा गयो यार्सा संकलक दरिभान खड्काले भने, ‘यसपालि गत वर्ष जति कमाई भएन्।’ देशको केही अर्थतन्त्र यार्सामा निर्भर हुने भएकाले यार्सा पाइने ठाउँको संरक्षणमा सरकार लाग्नु पर्ने स्थानीय पहलसिंह घर्तीले बताए ।



Prawash Kumar Shakya । २८ जेष्ठ २०७३, शुक्रबार १७:०१ बजे