जनतालाई केन्द्र विन्दूमा राखेर सेवा प्रवाह गर्नु पर्ने निजामती सेवा दिवसमा जोड


२२ भाद्र, नेपालगन्ज । जनता मालिक र कर्मचारीहरु सेवक भइसकेपछि जनतालाई केन्द्र विन्दूमा राखेर सेवा प्रवाह गर्नु पर्ने निजामती सेवामा रहेका उच्च पदस्थ कर्मचारीहरुले यहाँ आयोजित एक कार्यक्रममा बताएका छन् ।

उनीहरुका अनुसार हाल आम नेपाली जनतामा निजामती सेवाको छवि त्यति राम्रो हुन सकेको छैन । यसका लागि हामी सबैले बेलैमा सोंच्नु पर्छ । प्रत्येक वर्ष झैं बाँकेमा निजमती सेवा दिवस विविध कार्यक्रमका साथ मनाउने क्रममा सहभागी अतिथिहरुले मन्तव्यको क्रममा व्यक्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना र विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न सो कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि, अतिथि लगायतका वक्ताहरुले नेपालमा २००७ सालको परिवर्तन पछि २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन तथा नियमावली जारी गरेर व्यवस्थित रुपमा निजामती सेवाको जग राख्ने काम गरेको बताउँदै हाल आएर आम जनतामा निजामती सेवाको छवि त्यति राम्रो हुन सकेको छैन । यसका लागि हामी सबैले बेलैमा सोंच्नु पर्छ । जनता मालिक र कर्मचारीहरु सेवक भई सकेपछि जनतालाई केन्द्र्र विन्दूमा राखेर सेवा प्रवाह गर्नुपर्छ भन्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न निजमती सेवा दिवसको कार्यक्रमका प्रमुख अतिथि बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा बाँके स्थित ट्रेड युनियनका पदाधिकारीहरुले संसद्मा विचाराधिन निजामती सेवा ऐन यथासिघ्र जारी हुनु पर्ने, कर्मचारीहरुलाई दैनिक आवश्यकता धान्न पुग्ने खालको सेवा सुविधा दिनुपर्ने, उचित दण्ड पुरस्कार, नियमित वृत्ति विकास, पूर्वानुमानयोग्य सरुवा प्रणालीको व्यवस्था हुनुपर्ने, तीनै तहका सरकारले कानूनसम्मत चल्ने कर्मचारीतन्त्रमा अनुचित हस्तक्षेप गर्न नहुने जस्ता धारणा राख्नु भएको थियो ।

यसअघि शनिवार विहान जिल्ला प्रशासन कार्यालय बाँकेको हातामा जम्मा भएका कर्मचारीहरुले व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन नारा लेखिएको व्यानर तथा मुस्कान सहितको सेवा नागरिकलाई टेवा, प्रविधिको उपयोग गरौ सेवाको लागत घटाऔं, प्रभावकारी सेवा प्रवाहका लागि जनसहभागिता, समन्वय र सहकार्य, लोकतान्त्रिक शासन नागरिकमैत्री प्रशासन, जनसेवा हाम्रो प्रतिवद्धता, जनताका लागि प्रशासन, शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार, जनतालाई सेवा सुशासनलाई टेवा, जनमुखी प्रशासन अनुशासन र सुशासन, सुशासन र सदाचार निजामती सेवाको आधार, निजामती सेवाको मान्यता अनुशासन, इमान्दारिता र नैतिकता, सेवामैत्री प्रशासन, संघीयतामा सुशासन, स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन जस्ता नाराहरु लेखिएका प्ले कार्ड र व्याण्ड बाजा सहित प्रभातफेरी गर्दे सदरलाईन, त्रिभुवन चोक, इदगाहा रोड, वीपी चोक, नेपालगन्ज नर्सिङ क्याम्पस हुँदै भेरी प्राविधिक शिक्षालयको सभा हलमा गई सभामा परिणत भएको थियो ।

कार्यक्रमका अतिथिमा बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी बलका बाँके प्रमुख विमल डाँगी, राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख ओम बहादुर खड्का, निजामती कर्मचारीहरुको आधिकारिक कर्मचारी टे«ड युनियनका अध्यक्ष चिरञ्जीवी पाण्डे, नेपाल निजामती कर्मचारी कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल निजामती कर्मचारी कर्मचारी यूनियन बाँकेका कार्यवाहक अध्यक्ष वेदेश्वर गौतम, राष्ट्रिय निजामती कर्मचारी संगठनका भोज बहादुर रावल रहनु भएको थियो । कार्यक्रमको सञ्चालन कर्मचरी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्द प्रसाद पाण्डेले गर्नु भएको थियो ।

निजामती सेवा दिवसको पूर्व सन्ध्यामा बाँके जिल्लामा भाद्र्र २० र २१ गते सबै सरकारी कार्यालय हातामा सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत, फलफूलका विरुवा वृक्षारोपण गर्नुका साथै पहिलो सेवाग्राही सम्मान लगायतका कार्यक्रम सञ्चालन गरिएको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले बताउनु भयो ।