जुम्लामा हिमाली आयोजना असफल



हरि कृष्ण कुमाई, जुम्ला
पौष १३, जुम्लामा २०७० साल बाट लागु गरिएको उच्च पहाडी कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजन असफल भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा व्यवसाय सञ्चालन गरि रोजगारीको अनुभुति गराउने उद्धेश्य सहित दश वटा जिल्लाहरुमा सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल भएको हो । जुम्लामा हिमाली आयोजनाले सञ्चालन गरेको ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांस उपआयोजना अलपत्र अवस्थामा देखिएका छन् ।

पशुपालन, तरकारी, हातेकागज, जडिवुटी र फलफुलका क्षेत्रमा हिमाली आयोजनाले उपआयोजना शुरु गरेको थियो । पशुपालनका क्षेत्रमा स्थापित उद्योग अहिले गाई विहिन भएका छन् । त्यस्तै कमला हातेकागज उद्योग पनि वन्द छ ।विमानस्थल नजिकैको केसर खेति पनि  फस्टाउन सकेको छैन ।

कृषि उद्यम व्यवसाय विज्ञ नारायण श्रेष्ठले हिमाली आयोजनाले प्रत्येक गाउँपालिकामा उपआयोजना सञ्चालनमा ल्याएको बताउँदै भौगोलिक विकट्तालाई हेर्दा उपआयोजना राम्रोसित सञ्चालनमा आएको दाबी गरे । उनले भने, विपन्न वर्ग सम्म हिमाली आयोजनाको कार्यक्रम पुग्न नसकेको गुनासो आएको छ, तर विपन्न वर्गमा व्यवसायीक ज्ञान नहुँदा कृषि व्यवसायलाई अघि बढाउन नसकिएको र पनि हिमाली आयोजनाको उद्देश्य अनुसार सफल भएको जिकिर गरे ।

हिमाली आयोजनाका उपआयोजना पावर र पहुँचका आधारमा छनौट हुने गरेको स्थानीयको आरोप छ । जुम्लामा सञ्चालित ७० वटै उपआयोजनाको स्थलगत अनुगमन गरि सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न सरोकारवाला समक्ष स्थानीयले आग्रह गरेका छन ।