
कुमाल समुदायको परम्परागत पेशा र पहिचान हो माटोबाट भाँडा निर्माण गर्ने । केही वर्ष अगाडिसम्म माटोको भाँडाको प्रयोग राम्रो भएपनि विगत केही वर्षदेखि यो लोपको संघारमा पुगेको छ ।
विशेष गरी कुमाल समुदायको पहिचानसंग जोडिने यी भाँडा अहिले सहजै भेटिदैनन् । शहर बजारदेखि ग्रामीण क्षेत्रमा समेत अहिले विभिन्न धातु तथा प्लाष्टिकका भाँडावर्तनको प्रयोग बढ्दो छ । प्लाष्टिकका भाँडा वर्तनको प्रयोग बढेसंगै परम्परागत माटोका भाँडा लोप हुँदै गएका छन् ।
पुर्ख्यौली पेशा र पहिचान झल्कने माटोका भाँडालाई जीवन्त दिन अहिले व्यास नगरपालिका-१ गल्भुवेसीका आलोक कुमाल लागि पर्नुभएको छ । कुमाल समुदायले आफ्नो जीविकोपार्जनका लागि प्रयोग गर्ने सीप लोप हुँदै गएकाले संरक्षण गर्ने र नयाँपुस्तालाई माटोबाट निर्मित भाडा वर्तनका विषयमा जानकारी गराउने उद्देश्यले यो अभियानमा लागेको उहाँले बताउनुभयो ।
‘हाम्रा बाउबाजेले यही माटोका भाँडा बनाएर घरव्यवार चलाउनु हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘केही वर्षयता आधुनिक डिजाइनका प्लाष्टिक, आल्मुनियमका भाँडा भित्रिएपछि माटाका भाँडाले बजार पाउँन नै छाडे । बजार राम्रो नहुँदा माटोको भाँडा बनाउने सीप पनि पुस्ता हस्तान्तरण हुन पनि सकेको छैन ।’ माटोबाट राइस कुकर, कराइ, फ्रिज, फिल्टर, गिलास, प्लेट लगायतका भाँडा निर्माण अहिले यो समुदायका केही व्यक्तिमा मात्र माटोबाट भाँडा बनाउने सीप छ तर प्रयोग भने हुन सकिरहेको छैन । माटोको भाँडा वर्तन मानवीय स्वास्थ्यका लागि समेत गुणकारी भएकाले यसको महत्व र परम्परागत पेशालाई संरक्षण गर्दै नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले ३७ वर्षीय आलोकले व्यास-४ स्थित दमौलीमा मुक्तिनाथ माटोको भाँडा पसल सञ्चालन गर्नुभएको छ ।
उहाँको पसलमा आकर्षक डिजाइनका माटोका भाँडा न्यूनतम् ३ सयदेखि माथीको मूल्य पर्ने राइस कुकर, कराइ, फ्रिज, फिल्टर, गिलास, प्लेट आदि राखिएका छन् । नेपालमा माटोका भाँडा बनाउने सिल्पकार नभेटिएकाले सबै प्रकारका भाूडा जुटाउन कठिन भएको उहाँले बताउनुभयो । नेपाल कुमाल समाज सुधार जिल्ला कार्य समितिका अध्यक्ष समेत रहनुभएका आलोकले यही माघको १ गते कुमाल समुदायको राष्ट्रिय वर्षको अवसरमा कुमाल कला संस्कृति कार्यक्रम आयोजना गर्ने तयारी गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्लाभित्र र बहिराका सिल्पकारको पहिचान गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पहिचान भएका सिल्पकार र इच्छुक सिल्पकारको टोली बनाई उनीहरुलाई यस पेशातर्फ आकर्षित गर्नका लागि आवश्यक तालिम पनि सञ्चालन गर्ने योजना छ ।’ ‘अबको एक वर्षमै जिल्ला भित्रै माटोका विभिन्न भाँडा वर्तन बनाउने कलिगढको उत्पादन गर्ने छौं’, कुमालले भन्नुभयो, ‘स्थानीय कालिगढले उत्पादन गरेका सामाग्रि बजारीकरणसूगै पुर्ख्यौली पेशालाई जीवन्त दिने हामीले योजना बनाएका छौं ।’
यस्तै, सरु कुमालले आफ्नो भान्सामा माटोको राइसकुकर र चिया बनाउने प्यान प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आल्मुनियमको भाँडामा खाना पकाउँदा र माटोको भाँडामा खाना पकाउँदाको स्वादमै धेरै फरक आउँदो रहेछ ।’ ‘आमाबुबाले माटोमा खाना पकाएर खाएको सम्झदा सच्चिकै स्वादिलो हुन्छ र भन्ने लग्दथ्यो तर अहिले आफैले प्रयोग गर्दा थाहा पाए’ कुमालले माटाको भाँडामा पकाएको चिया निकै नै मिठो लागेको अनुभव सुनाउनुभयो ।
यस्तै, माटोको भाँडामा राखेको दही, मोही, घ्यू लामो समयसम्म नबिग्रने, माटोको भाँडामा दाल तथा मासु पकाउँदा छिटो पाक्ने, मकै भुटेर खाँदा मिठो हुने, पानी चिस्साएर राख्न उपयोगी हुने गरेको संचालक आलोक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘माटोको भाँडा प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त हुनुका साथै विभिन्न संस्कार र संस्कृतिमा समेत प्रयोग गरिन्छ ।’ नेपाली समुदयाको संस्कृतिसंग समेत प्रत्यक्ष जोडिएको माटोको भाँडालाई थप प्रवर्द्धन गर्न स्थानीय सरकार तथा सरोकारवाला निकायले ध्यान दिए संरक्षणमा टेवा पुग्ने देखिन्छ ।




Milan Shrestha । २५ पुष २०७६, शुक्रबार २२:०१ बजे