काठमाडौं । देशभरबाट गत वर्ष १ हजार १६ जना बालबालिका हराएका मध्ये केवल २ सय ५० फेला परेका र बाँकी ७ सय ६६ अझै बेपत्ता रहेको प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । यसरी हराएकामध्ये अधिकांश बालिका रहेको पनि केन्द्रले जनाएको छ ।
खोजी गरिएका अधिकांश बालबालिका भारततर्फ लगिंदै गरेका र कतिपयलाई भारतबाट उद्धार गरिएको हुनाले धेरै बालबालिका भारतमानै माग्ने, घरेलु कामदार, वेश्यावृत्ति वा खतरनाक काममा कामदार बनाइएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । हराएका मध्ये थोरैमात्र नेपालमा भेटिएका छन् ।
प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख डीएसपी भक्त विस्टका अनुसार गत भदौमा भारतको बैङलोरबाट १३ जना बालबालिका नेपाल फर्काइएको थियो । त्यस्तै गतवर्षको पुसमा भारतको राजधानी दिल्लीबाट २६ जना, चैतमा १७ जना र जेठ महिनामा ३ जना नेपाल ल्याइएको छ । उनीहरुलाई भारतबाट ‘छोराछोरी नेपाल’को समन्वयमा नेपाल बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रले फिर्ता ल्याएको हो ।
वैशाखमा भारततर्फ लैजाँदै गरेका २५ जना बालबालिकालाई प्रहरीले कञ्चनपुरको पश्चिमी सीमाना गड्डा चौकीबाट उद्दार गरेको थियो जसमध्ये ६ जना १४ वर्ष मुनिका र १९ जना २० वर्षमुनिका थिए ।
यसरी हराएका बालबालिका विभिन्न गिरोहको चंगुलमा फस्दै विदेशमा पुगेको समेत प्रमाण भेटिएको छ । केही समय पहिले बेलायतको ‘द सन’ पत्रिकाले गरेको ‘गोप्य अपरेसन’मा भूकम्पपीडित नेपाली बालबालिका भारतको पञ्जाब राज्यको विकट स्थानबाट करिब ६ लाख रुपैयाँमा बेलायती परिवारलाई बेचिरहेको समाचार प्रकाशित गरेको थियो ।
बालबालिका हराउने क्रम भूकम्पपछि बढेर गएको डीएसपी विष्टले पनि बताए ।
चैत मसान्तसम्मको तथ्यांक अनुसार यो वर्ष सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रबाट २ सय ३७ बालबालिका हराएका छन् । यसैगरी पूर्वाञ्चलबाट १ सय ८७ जना, उपत्यकाबाट १ सय ७६, मध्यमाञ्चलबाट ८० जना, मध्ये पश्चिमाञ्चलबाट ९८ र सुदुर पश्चिमाञ्चलबाट २४ गरी ८ सय २ बालबालिका हराएका छन् ।
वैशाखमा मात्र २ सय १४ जना बालबालिका हराएको केन्द्रले जनाएको छ । ति मध्ये ८२ बालक र १सय ३२ बालिका हराएको प्रहरीले जनाएको छ । वैशाखमा हराएका मध्ये १३ बालक र १४ बालिका गरी २७ जना फेला परेका छन् ।
त्यसअघि चारवर्षको अवधिमा देशभरबाट ४ हजार ९२ जना बालबालिका हराएका छन् । तिमध्ये एक हजार ८ सय ४५ जना फेला परेका छन् भने बाँकी २ हजार २ सय ४७ बालबालिका अझै फेला परेका छैनन् । आर्थिक वर्ष २०६९/०७० मा १ हजार ४ सय ५३, २०७०/०७१ मा ८ सय ३७, २०७१/०७२ मा ३ हजार ७६ जना र चालु आर्थिक वर्षमा १ हजार १६ जना बालबालिका हराएको प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । ६ जेष्ठ २०७३, बिहीबार १२:५१ बजे