भाँडाकै घरमा कालिकोटका स्थानिय सरकार


बिस्नप्रसाद न्यौपाने
फागुन २ । कालिकोट ।
कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका कार्यालयहरु भाडाका घरमा सञ्चालित छन । प्रत्येक स्थानीय तहले वार्षिक पाँच लाख भन्दा बढी रकम कार्यालय भवनमै बुझाउनुपर्ने देखिएको छ ।

जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले नै मासिक ५० हजार भाडा तिरेर कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको मेयर जसीप्रसाद पाण्डेले बताए ।  उनले भने  ‘स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग छ’, ‘अझै चार पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माण मै अलमल हुन्छ ।

त्यस्तै रास्कोट नगरपालिका पुरानो स्यूना गाविसको गाविस कार्यालयबाट सेवा संचालन गरिएको भएपनि कर्मचारी जनप्रतिनिधि तथा कर्मचारी आबासका लागि मासिक २० हजार भाडा तिर्ने गरी ९ कोठे भवन भाडामा लिएको रास्कोट नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत कुलराज सुवेदीले बताए । उनले पुरानो गाविस कार्यालय र एक नीजि भवन भाडामा लिएर पनि साँघुरो भवनबाट सेवा प्रबाह गर्न बाध्य भएको बताए ।

भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेका पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले मासिक १५ हजारमा दुर्इ वटा घर भाडामा लिएर सेवा प्रबाह गरिरहेको बताए । उनले गाँउपालिकाको भौतिक संरचना निर्माण ढिलाई हुने भएकाले आफ्नो कार्यकाल नै भाडामा दिएको साँघुरो घरबाट संचालन भैरहेको बताए ।

कालिकोटका धेरैजसो स्थानिय तहहरुमा अध्यक्ष, उपाध्यक्ष सहित प्रशासकीय अधिकृत, अन्य शाखाका कर्मचारी सबैका लागि एउटा एउटा कोठा छ । आफ्नै भवन नभएकाले भाडाको घरमा साँघुरै भए पनि काम चलाइरहेका छन् ।

पलाता गाँउपालिका अध्यक्ष लक्ष्मण बमले आफुले झोलाबाटै गाँउपालिका चलाई रहेको बताए । उनले पहिले पलाता गाँउपालिकाको दुर्सीमा अस्थायी केन्द्र तोकेकोमा त्यहाँ कुनै पनि भवन, घर नहुँदा आफुले झोलाबाटै गाँउपालिकाको सेवा प्रबाह गरिरहेको बताए ।

उनले भने विगत केही दिन अगाडी गाँउपालिकाको बैठकले थिर्पुलाई अस्थायी केन्द्र तोकेकाले त्यहा घर भाडामा लिने तयारी भर्इइरहेको बताउँदै घर निर्माण प्रक्रिया थाल्ने तयारीमा रहेको बताए ।

यस्तै शान्नित्रिवेणी गाउपालिकाका निमित्त कार्यकारी अधिकृत मलिम रावलले आफुहरुले गाँउपालिकामा मासिक १६ हजार तिरेर घर भाडामा लिएको र जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय मासिक दुइ हजार गरी मासिक १८ हजार भाडा तिरिरहेको बताए ।

भौतिक संरचनाको अभावमा जिल्लाका ९ वटै स्थानिय तहहरुले गाँउपालिकाका सेवा प्रबाह गर्न भाडामा घर लिएर सेवा प्रबाह गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिका र नगरपालिकादेखी वडा कार्यालयहरु समेत भाडाका घरमा संचालन भईरहेका छन् । साविकका गाविस भन्दा वडाहरूको संख्या धेरै भएकाले अधिकांश वडा कार्यालयहरु भाडामा संचालन रहेको जिल्ला समन्वय समिति कालिकोटले जनाएको छ ।

गाविस कार्यालय सञ्चालन भएको पुरानो भवनमा दुइदेखि तीन वटा सम्म वडाको कार्यालय राख्नुपर्दा वडा अध्यक्षले बस्ने ठाउँ समेत नपाउने अवस्था छ ।