३ फागुन । सुर्खेत । ६ नं प्रदेश को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
६ नं प्रदेशको मुख्यमन्त्रीमा माओबादी केन्द्रबाट मुख्यमन्त्रीमा नरेश भण्डारी र शाहीको नाम चर्चामा रहेपनि केही दिन अगाडीबाट शाही मुख्यमन्त्री हुने निश्चित जस्तै भएको थियो ।
एमालेले आलोपालो प्रस्ताव राखेपछि केहीदिन देखि मुख्यमन्त्री चयनमा ढिलाइ भएको हो ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले दावी पेश गरेको थियो ।
आज (बिहीबार) नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि शुक्रबार हुने ६ नं प्रदेश सचिवालयले जनाएको छ ।
६ प्रदेशमा बामगठबन्धनबाट एमालेका २० र माअोवादीका १३ गरी ३३ जना, कांग्रेसका ६ र राप्रपाका एक जना सांसद गरी ४० जना सांसद रहेका छन् ।
नवनिर्वाचित प्रदेश नं. ६ मुख्यमन्त्री महेन्द्रबहादुर शाही
कालिकोटको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा मध्यमवर्गीय परिवारमा जन्मिएका महेन्द्रबहादुर शाही कालिकोट प्रदेश (ख) बाट सांसद चुनिएका हुन् ।
२०५२ सालको सशस्त्र विद्रोहको सुरुदेखि नै भूमिगत ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष ।
पार्टी संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह ।
कालिकोटको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गर्दै युद्धमोर्चामा सहभागी ।
कालीकोटबाट २०७० सालमा सभासदमा विजयी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोगको प्रस्तावकको रुपमा निकै चर्चामा रहेका शाही माओवादी केन्द्रभित्र इमान्दार नेताको रुपमा चिनिन्छन् ।
तत्कालीन माओवादीले गठन गरेको जनमुक्ति सेना नेपालको छैठौं र सातौं डिभिजन कमाण्डर समेत रहेका शाही पार्टीमा ‘प्रज्वल’ उपनामले परिचित छन् ।
Prawash Kumar Shakya । ३ फाल्गुन २०७४, बिहीबार १४:३० बजे