अशोक राजी
सुर्खेत, १२ जेठ ।
ट्राफिक नियम उल्लंघन गरेवापत सरकारले पछिल्लो समय बढाएको जरिवानाको विरोधमा सुर्खेतस्थित सम्पूर्ण यातायायत व्यवसायीहरुले भोली विहीवार चक्काजामको घोषणा गरेका छन् ।
उनीहरुले संयुक्त अपिल प्रकाशित गरी भौतिक पूर्वाधारको विकास नगरी, सडक प्रयोगकर्ताहरुको जनचेतना विकास नगरी जरिवानामात्र बढाएर ट्राफिक नियम उल्लंघनका घटनाहरु नियन्त्रण नहुने भन्दै त्यसको विरोधमा चक्काजाम गरिएको बताएका हुन् ।
बढी जरिवानाले स्वदेशी पुँजी संकटमा पर्ने र यातायात श्रमिकहरु पेशाबाट बञ्चित हुने भएकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको जिकिर छ । देश व्यापी कार्यक्रम अनुसार आफूहरुले पनि सुर्खेतमा चक्काजाम गर्ने भएकोले यसबाट पर्न गएको दु:खप्रति उनीहरुले क्षमायाचनासमेत गरेका छन् ।
पछिल्लो समय ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि १५ सयसम्म जरिवाना बढाइएको छ । संयुक्त अपिल जारी गर्नेमा मप यातायात व्यवसायी संघ, काँक्रेविहार यातायात व्यवसायी संघ, मप ट्रक तथा टे्रक्टर व्यवसायी संघ, बौद्ध यातायात व्यवसायी संघ, मप जीप तथा टेम्पो ट्याक्सी यातायात व्यवसायी संघ, भेरी कर्णाली ट्रक व्यवसायी संघ, साना टे्रक्टर व्यवसायी संघ, देउती नागरिक यातायात, काँक्रेविहार यातायात प्रालि, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ बस कार्इ समिति र नेपाल यातायात मजदुर संघ केन्द्रीय समिति रहेका छन् ।



Prawash Kumar Shakya । १२ जेष्ठ २०७३, बुधबार १५:१७ बजे