शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनीधिहरुले गरे सामूहिक प्रतिवद्धता


कालीवहादुर मल्ल
फागुन २३ कालीकोट ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएका शिक्षा सम्बन्धि व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी कालिकोट जिल्लाको शैक्षिक गुणस्तर सुधारकोलागि यहाँका जनप्रतिनीधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कालिकोट जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, शिक्षा मन्त्रालय, शिक्षा विभागका प्रतिनीधि लगाएत जिल्लाका सरोकारवालाहरूको भेलाले शैक्षिक गुणस्तर अभिवृदि गर्न १५ बुँदे प्रतिवद्धता घोषणा गरेकाछन् । शिक्षा क्षेत्रमा देखिएको विकृतिको अन्त्य, व्यवहारिक रोजगारमुलक शिक्षाको विकासका लागि विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता गोषणा गरिएको छ ।

कालिकोट जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनीधिहरुद्धार हस्ताक्षर गरिएको प्रतिवद्धता पत्रमा विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय सम्म ल्याउनको लागि के कति बालबालिका विद्यालयमा आएका छन् र के कति विद्यालयमा आएका छैनन् एकिन गरी विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने, विद्यालयमा पठनपाठन हुने दिन र समय बढाउन हुनेगरेका बिदाहरूको लेखा–जोखा र स्थानीय स्तरको सार्बजनिक बिदा निर्धारण गरी कार्यान्वयनका लागि वार्षिक कार्ययोजना निर्माण गर्दै नियमित विद्यालय सञ्चालन गर्ने, कमजोर सिकाई उपलब्धि भएका विद्यार्थीलाई उपचारात्मक कक्षा तथा सिकाइको व्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री बनाउन बालसुलभ पूर्वाधार, गुणस्तरीय सिकाई वातावारण, पढाई कुना र पुस्तकालय, खानेपानी, बालिकाको लागि छुट्टै शौचालय आदि सुधारका लागि कार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ । शिक्षक र बालबालिकाको नियमितता सुनिश्चित गर्न विभिन्न रणनीति अनुसार–बायोमेट्रिक हाजिरी, दैनिक उपस्थिती पाटी, फ्लोअप कार्ड, घरदैलो, पुरस्कार, सम्मान, आदि अवलम्बन गर्ने पनि उल्लेख गरिएको छ ।

यस्तै प्रतिवद्धता पत्रमा बालबालिकाको सिकाइ सुनिश्चित गर्न विषय शिक्षकले मासिक, प्रधानाध्यापकले त्रैमासिक र पालिकाले वार्षिक परिक्षा सुनिश्चित गर्ने, अन्तर विद्यालय उत्तरपुस्तीका परीक्षण गर्ने प्रणालि विकास गर्दछौं भनिएको छ । प्रत्येक वर्ष कक्षागत सिकाई उपलब्धी वृद्धि गर्ने, गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न समता रणनीति अबलम्बन गर्ने, हरेक विद्यालयमा एकवटा बालविकास केन्द्र व्यवस्थापन गर्दै प्रारम्भिक बालविकास केन्द्रका बालबालिकालाई विद्यालय तयारीका लागि प्रारम्भिक साक्षरता र गणित सिकाइका लागि तालिम, अभ्यास र सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यसैगरी वडासमितिको नेतृत्वमा विद्यालयमा नियमित अनुगमन गर्ने प्रणालि सुनिश्चित गर्दै विद्यालयमा प्रभावकारी अभिभावक सहभागिताका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने, अपाङ्गता भएका सबै बालबालिकालाई अपाङ्गता परिचय पत्र प्रदान गरी सहायक सामग्री सहित विद्यालय भर्ना र निरन्तरता सुनिश्चित गर्ने, विद्यालय नक्सांकन गरी विद्यालय समायोजन र तह समयोजन गर्दै शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइएको छ ।