नारायणगढ–मुग्लिन सडकको कन्तबिजोग- ६ महिनामा २१ गाडी त्रिशूलीमा खसे


३५ को मृत्यु, ७९ घाइते र १८ अझै बेपत्ता

माघ २१, २०७३- चितवनको दारेचोक ४ नाग्दी खोला नजिक मंगलबार राति वीरगन्जबाट चामल बोकेर काठमाडौं जाँदै गरेको ना५ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो । उक्त दुर्घटनामा धादिङ खयरघारी २ का चालक रामशरण वाग्ले घाइते भए । ट्रकमा सवार गोरखा नागेश्चर ९ का कृष्णबाबु बस्नेत बेपत्ता छन् ।

त्यसै दिन बिहान दारेचोक ३ कुरिनटार नजिक वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना६ख ४७२९ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमै खस्दा सिन्धुपाल्चोक चकचमे ३ का चालक हरि बस्नेत र सहचालक निरज भुजेल घाइते भए । इलाका प्रहरी मुग्लिनका निरीक्षक योगेन्द्रबहादुर हमालको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ल्यायो ।

यी दुवै दुर्घटना ‘ओभरटेक’ गर्न खोज्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यस्तै एक महिनाअघि चण्डीभञ्ज्याङ ५ कालीखोलामा काठमाडौंबाट सर्लाहीको मलंगवा आउँदै गरेको ना४ख ५४४२ नम्बरको अनमोल ट्राभल्सको बस त्रिशूलीमा खस्दा २४ घाइते भएका थिए । दुर्घटनामा एक यात्रीको मृत्यु भयो । यी दुर्घटना उदाहरण मात्र हुन् ।

साउनयता ६ महिनाको अवधिमा नारायणगढ–मुग्लिन र मुग्लिन–मौवाखोलाको पृथ्वी राजमार्गका विभिन्न स्थानबाट ट्रक, बस, ट्रयाक्टर र जिप गरी २१ गाडी त्रिशूलीमा खसेका छन् । नदीमा अहिलेसम्म १८ यात्रु बेपत्ता छन् । ती दुर्घटनामा ३५ को मृत्यु भएको छ । ७९ घाइते भए । अधिकांश दुर्घटना चालकको लापरबाहीले भएको प्रहरीको अध्ययनले देखाएको छ ।

मुग्लिन–जुगेडी क्षेत्रमा १३ र मुग्लिनदेखि चितवनको सिमाना मौवा खोलासम्मको क्षेत्रमा ८ वटा सवारी त्रिशूलीमा खसेको जिल्ला प्रहरीले जनायो । दुर्घटनामा परेका केही सवारी हालसम्म त्रिशूलीमा हराइरहेका छन् । अधिकांश दुर्घटना रातिको समयमा भएका छन् ।

दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । ‘साँघुरो र जीर्ण सडकमा पनि ओभरटेक गरेको पाइयो,’ उनले भने, ‘चालकलले जबर्जस्ती ओभरटेक गर्नाले दुर्घटना भएका छन् ।’

सडकको अवस्थालाई मध्यनजर गर्दै चालकले सावधानी अपनाउनु पर्नेमा त्यसो नगरेकाले दुर्घटना बढेको थापाले बताए । जिल्ला प्रहरीका अनुसार साउनमा ४ भदौमा ४, असोज ४, कात्तिकमा २, मंसिर १, पुसमा २ र माघ २० गते सम्ममा ४ वटा सवारी त्रिशूलीमा खसेका छन् । सबैभन्दा धेरै १४ वटा ट्रक त्रिशूलीमा खसेका छन् । ३ वटा बस, २ वटा जिप, एउटा एम्बुलेन्स र एउटा ट्रयाक्टर त्रिशूलीमा खसेको प्रहरीले जनायो ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार आव २०६०/६१ देखि आव ०७३/७४ (साउन सम्म) १ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । जसमा पुरुषको संख्या ८ सय ४६ छ । महिलाको संख्या २ सय १ छ । बालबालिकाको संख्या १ सय २ छ ।

घाइते हुनेको संख्या मृतकको संख्याको दोब्बर छ । प्रहरीका अनुसार २ हजार ५ सय ४५ जना दुर्घटनामा घाइते भए । नारायणगढ–मुग्लिन खण्डको स्तरोन्नतिको काम जारी रहेकाले सडक साँघुरिएको छ । निर्माण सम्पन्न नहुँदासम्म यो खण्डमा जोखिम उच्च छ ।

फेला पर्दैनन्
गएको असोजको पहिलो साता गौरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ३७०९ नं को रात्रि बस नारायणगढ–मुग्लिन सकड खण्डको कालीखोलामा अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खस्दा २५ यात्रुको मृत्यु भयो । दुर्घटनामा १० जना बेपत्ता छन् । उनीहरू अहिलेसम्म फेला परेका छैनन् । बेपत्ता भएकाहरूको खोजीमा लागिपरे पनि फेला पर्न नसकेको एसपी थापाको भनाइ छ ।

‘धेरै दिनसम्म खोजी गर्छौं’, उनले भने, ‘ठूला नदीमा बेपत्ता भएकाहरू फेला पर्न सक्दैनन् ।’ गत असोज ९ गते दारेचोक ३ घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे सवार बा९च १५३१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घिमिरेसहित २ जना हालसम्म बेपत्ता छन् । लामो समयसम्म उनको खोजी गर्दासमेत फेला परेनन् । साउनयता त्रिशूलीमा बेपत्ता भएका १८ जना अहिलेसम्म फेला नपरेको प्रहरीले जनायो ।

साभारः कान्तिपूरअनलाइन