रारा घुम्न नयाँ प्याकेज



जीवन सेजुवाल
फागुन २६, मुगु ।

रारा घुम्ने सिजन सुरु भएसँगै पर्यटन व्यवसायीले रारा घुम्न आउने आन्तरिक पर्यटकका लागि नयाँ प्याकेज सुरु गर्ने भएका छन् ।

रारा घुम्नका लागि फागुनको अन्तिम सातादेखि असोज अन्तिमसम्म उपयुक्त समय भएकाले हिउँदको सिजन सकिएलगत्तै रारा घुम्न आउने आन्तरिक पर्यटकका लागि व्यवसायीले नयाँ प्याकेज ल्याएका हुन् ।

सडक र हवाई यातायात दुवै मार्गबाट रारा घुम्न आउने पर्यटकलाई व्यवसायीले विगतमा पनि सहुलियत दरको प्याकेजमा रारा ल्याउने गरेका थिए । यसअघि रारा आउने पर्यटकका लागि भिजिट कर्णाली टुर एन्ड ट्राभल, भिजिट रारा टूर एन्ड ट्राभल, डाँफे होटल, रारा एड्भेन्चर टुर एन्ड ट्राभल र छाँयानाथ रारा मल्टी टुर एन्ड ट्राभलले आन्तरिक पर्यटकलाई आफ्नो प्याकेजमा एक हजारभन्दा बढीलाई रारा भित्र्याएका थिए ।

यो वर्ष पनि रारा घुम्ने सिजन सुरु भइसकेकाले आफ्नो ट्राभलमार्फत रारा आउने पर्यटकका लागि नयाँखाले प्याकेज सुरुवात गर्न लागेको भिजिट कर्णालीका सञ्चालक राजु कार्की बताउँछन् । कार्कीका अनुसार काठमाडौंदेखि रारासम्म हवाई सेवामार्फत आउनेका लागि तीन दिनदेखि सात दिनसम्म प्रतिव्यक्ति ३५ हजार र सडक यातायातमार्फत रारा पुग्ने पर्यटकका लागि सात दिनसम्म २५ हजारको प्याकेज छ । यो प्याकेजमा दुवैतर्फको भाडा, खाने बस्नेसमेत सुविधा छ ।

नयाँ वर्ष सुरु भएलगत्तै गर्मी छल्न खोज्ने पर्यटकका लागि काठमाडौंबाट हवाई तथा सडक दुवै मार्ग हुँदै अपर मुगुको पाटन क्षेत्रमा हुने यार्चा गुम्बा अवोलकनका लागि यार्चा प्याकेजसमेत सुरु गर्न लागिएको छ । यार्चा अवलोकन गर्नका लागि काठमाडौंबाट ३७ हजारको प्याकेज राखिएको छ । यो प्याकेजमा पर्यटकले राराताल अवलोकन गरी छिमेकी राष्ट्र चीनको तिब्बत सिमाना जोडिएको मुगु गाउँको साँस्कृतिक परम्परादेखि पुराना गुम्बा छाँयानाथ तीर्थस्थल र प्रत्यक्ष रूपमा यार्चा गुम्बाको अवलोकन गर्न सकिने भएकाले जेठको पहिलो हप्तादेखि असारको अन्तिमसम्म प्याकेज लागू गरिने भिजिट कर्णालीका सञ्चालक कार्कीले बताए ।

रारा घुम्नका लागि फागुनको अन्तिम सातादेखि असोज अन्तिमसम्म उपयुक्त समय भएकाले हिउँदको सिजन सकिएलगत्तै रारा घुम्न आउने आन्तरिक पर्यटकका लागि व्यवसायीले नयाँ प्याकेज ल्याएका हुन् ।

आफ्नै स्टिमेटमा आउने पर्यटकका लागि भने रारामा रहेका होटलले पनि प्याकेज कार्यक्रम लागू गर्ने भएका छन् । आफ्नै स्टिमेटमा आउने आन्तरिक पर्यकटका लागि होटेल सञ्चालकले खुला चौरमा राखिएका टेन्टदेखि एट्याच बाथरुमसम्मका कोठा र बिहानको बे्रकफास्टसहित स्थानीय परिकार र एक रातको १ हजार पाँच सय देखि २ हजार पाँच सयसम्मको प्याकेज रहेको डाँफे होटलका सञ्चालक पूर्णदेवी बम बताउँछन् ।

रारास्थित होटेलले घुम्न आउने पर्यटक धान्न नसक्ने देखिएपछि यहीँ प्याकेजमा पर्यटकलाई राराताल नजिक रहेको मुर्मा गाउँ र रारा विमानस्थल नजिकको ताल्चा गाउँमा आउँदो वर्षदेखि होमस्टे निर्माण गर्ने छाँयानाथ रारा मल्टी टुर एन्ड टा«भलका सञ्चालक रामचन्द्र भाम बताउँछन् ।

न्यानो महिना सुरु हुनै लाग्दा आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि अहिले होटेल व्यवसायी र पर्यटन व्यवसायीले विभिन्नखाले प्याकेज ल्याउन लागेको भए पनि पर्यटक आफ्नै सवारीसाधन र भाडाका साधन प्रयोग गरी रारा पुग्ने गरेका छन् । राराको पर्यटन प्रवद्र्धनका लागि व्यवसायी संगठित भएर लागे पनि सरकारले कुनै प्रयास नगरेको उनीहरूको आरोप छ । रारामा पर्यटकका लागि सूचना केन्द्र नभएको र प्रयाप्त मात्रामा होटल रेस्टुरेन्ट नभएको पर्यटकको गुनासो छ । केन्द्रीय सरकारभन्दा प्रदेश सरकारले नै यस विषयमा ध्यान दिनु पर्ने उद्योग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्र मल्ल बताउँछन् ।

केही वर्षयता भारतीय पर्यटक भित्र्याउन पर्यटन व्यवसायीले हुम्ला–डोल्पा–जुम्ला–रारा हुँदै मानसरोवर दर्शनका लागि हुम्लासम्मको हवाई सेवाको प्याकेज सुरुवात गर्न सम्बन्धित निकायसँग पहल गरिने समेत बताए ।

पर्यटन व्यवसायीले रारा घुम्न आउने पर्यटकका लागि सहुलियत दरमा विभिन्नखाले प्याकेज कार्यक्रम ल्याउने गरेका भए पनि आफ्नो स्टिमेटमा आउने गरेका पर्यटकले प्याकेजभन्दा बढी रकम खर्च गर्नु पर्ने बाध्यता देखिएको छ । ट्राभलको प्याकेजमा आउनेभन्दा आफ्नै स्टिमेटमा आउने पर्यटकले १० हजारभन्दा बढी खर्च गर्नु पर्ने देखिएको छ । आफ्नै स्टिमेटमा आउने पर्यटकले काठमाडौंदेखि नेपालगन्जसम्म हवाई भाडा ४ हजार, ९ सयदेखि ९ हजार, ९ सय तिर्नु पर्छ भने नेपालगन्जदेखि रारा विमानस्थलसम्म ८ हजार, ७ सय र फर्किंदा पनि त्यतिकै मूल्य तिर्नु पर्दा प्रतिव्यक्ति ४५ हजार खर्च हुने गरेको छ । प्याकेजमा आउनेले तोकिएको रकममा राराको आनन्द लिई सुरक्षित घर फर्किन सकिने व्यवसायीले बताएका छन् ।
अन्न्नपूर्ण पोष्ट बाट