सुत्केरी आमाले प्रोत्साहन भत्ता पाएनन्



अविरल ढकाल
फागुन ३०, जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिका स्थित डिल्लीचौर स्वास्थ्य चौकी र छुमचौर स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी भएका सुत्केरी आमाहरुले प्रसुति प्रोत्साहन भत्ता (यातायात खर्च) नपाएको गुनासो गरेका छन् । राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति र तत्काल आमा बच्चालाई आर्थिक रुपमा समस्या नहोस् अर्थात स्वास्थ्य संस्थामा प्रसुतिका लागि ल्याउन आउन जान पनि सहज होस् भनेर सुत्केरी आमालाई प्रोत्साहन भत्ता (यातायात खर्च) उपलव्ध गराएको हो ।

पातारासी गाउँपालिका ८ की करिश्मा बुढाले भनिन्, सुत्केरी भएको ८ महिना बित्यो तर प्रसुति प्रोत्साहन भत्ता पाएका छैनौँ । प्रोत्साहन भत्ता समयमा पाएको भए सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खान सहज हुन्थ्यो, पहिला समय प्राप्त हुने गरेको थियो तर अहिले पाएका छैनौँ उनले भनिन् ।
चालु आर्थिक बर्षको दोस्रो चौमासिक वितिसक्दा पनि तत्काल पाउनु पर्ने प्रसुति प्रोत्साहन भत्ता नपाएको पातारासी गाउँपालिका ४ लुमगाउँकी सरस्वती कामीको गुनासो छ । उनले भनिन् राज्यले सुत्केरी आमालाई सुरक्षित प्रसुतिका लागि तत्काल आर्थिकका कारणले समस्या नहोस् भनेर प्रसुति प्रोत्साहन भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो तर ८ महिना वितिसक्दा पनि रकम पाएका छैनौं । डिल्लीचौर स्वास्थ्य चौकीमा भदौ १० गते सुत्केरी भएकी हुँ तर अहिले फागुन महिला वित्न लागिसक्यो प्रसुति भत्ता नपाएको उनले गुनासो गरिन् । छुमचौर स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी भएका ३१ जना सुत्केरी आमाहरुले पनि प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् ।

डिल्लीचौर स्वास्थ्य चौकीमा यस चालु आर्थिक बर्षको साउन महिना देखि प्रसुति भएका २९ जना आमाहरुले प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् भने नियमित चार पटक (चार, छ, आठ र नौ) महिना गर्भ चेकजाँच गराए बापत थप ४ सय रुपैया पाउनु पर्ने ६ जना महिलाहरुले पनि पाएका छैनन् ।

छुमचौर स्वास्थ्य चौकीका इन्र्चाज प्रकाश सापकोटाका अनुसार गाउँपालिकाले प्रसुति प्रोत्साहन भत्ता स्वास्थ्य चौकीको खातामा जम्मा भएको छ भन्ने जानकारी भएको छ, अव तत्काल वितरण गरिने छ । पातारासी गाउँपालिकामा विरामी बोक्नका लागि स्टे«चर नभएको महिला स्वयम्सेविकाले बताएका छन् । गाउँपालिकामा स्टेचर खरिद भएर आएको तर गाउँमा वितरण नभएको जनाइएको छ ।
पातारासी गाउँपालिका प्रमुख लक्षिमन बोहोराले स्वास्थ्य चौकीको खातामा रकम निकासा भएको र अव वितरण हुने बताए ।
जुम्लाका अधिकांश स्वास्थ्य चौकीमा खानेपानीको समस्या नै रहेको छ । पानी नहुँदा ससुत्केरी आमा र शिशुलाई नुहाउनको लागि समस्या हुने गरेको छ । डिल्लीचौर स्वास्थ्य चौकीमा खानेपानी नहुदा सरसफाईमा समस्या भएको छ । अनमी केमा बुढाका अनुसार गाउँमा एक धारा छ त्यसै धाराबाट पानी बोकेर काम चलाउन बाध्य छौं । गाउँमा ७० घरधुरी छन् गाउँमा पनि खानेपानी पुगेको छैन । वर्थिङ्ग सेन्टरमा सुत्केरी सामाग्री निर्मलीकरण गर्नुपर्ने हुन्छ । तातोपानीको व्यवस्था छैन निकै समस्या भएको उनले भनिन् समस्याका बाबजुत सेवा प्रवाह गरेका छौं ।

विटक जिल्लाका गाँउ वस्तीका स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधि सधै नै समयमा नपुग्ने हुनाले पनि समस्या हुने गरेको छ । यो वर्ष स्थानिय निकायको सिकाइका कारण पनि स्वास्थ्य चौकीमा औषधीको कमी भएको स्वास्थ्यकर्मीले बताएका छन् । आइरन चक्की गएको पुस महिना देखि शुन्य मौज्दात भएका कारण गर्भवती महिलाले खान नपाएको जनाइएको छ । त्यसैगरी कोट्र्रिम एडल्ट, कोट्रिम (बच्चा) एमोक्सिसिलिन सिप्रो लगायतका औषधि गएको मंसिर पुस महिना देखि शुन्य मौज्दात रहेका छन् ।

स्वास्थ्य चौकीमा औषधि नहुदा निकै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा आएर मात्र केही हुदैन आवश्यक औषधि, उपकरण लगायतका सामाग्रीको व्यवस्थापन हुनुपर्ने हो तर त्यसो नहुदा समस्या भईरहेको स्वास्थ्यकर्मीहरुले थप गुनासो गरेका छन् ।