जनकबहादुर शाही
चैत्र–८, हुम्ला ।
एसइई परीक्षा सुरु हुने दिनमै हुम्लामा हिमपात हुदाँ पनि परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ६ वटा केन्द्र रहेको यस जिल्लामा हिमपात भएकाले चिसोका कारण बिद्यार्थीलाई लेख्न समस्या आउछ भनि जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले सबै केन्द्राध्यक्षलाई १५ मिनेट समय थप्ने निर्देशन दिएको भएपनि चिसोका कारण कुनै पनि परीक्षा केन्द्रमा समय थप्नु नपरेको हो । आज अंग्रेजी विषयको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बिष्णुबहादुर शाहीले बताउनुभयो ।
परीक्षामा ९ सय ८५ छात्रछात्रा सहभागी भएका छन् भने ७४ जनाको अनुपस्थीत रहेका थिए । उपस्थित हुनेमा ४ सय ५१ जना छात्रा र ५ सय ३४ जना छात्र रहेका छन् भने ४० जना छात्रा र ३४ जना छात्रहरु अनुपस्थित रहेका छन । ५ जना बिद्यार्थीले ग्रेड बृद्धिका लागि फारम भरेको जिल्ला शिक्षा अधिकारी थापाले जानकारी दिनुभयो । २०७४ सालको एसइईका लागि यस जिल्लाबाट नियमित तर्फ ४ सय, ३७ छात्रा र ५ सय, २८ छात्र गरी ९ सय, ६५ परीक्षार्थीले फारम भरेका थिए भने एक्जाम्टेट तर्फ ५४ छात्रा र ४० छात्र गरी ९४ जना परीक्षार्थीले फारम भरेका थिए । नियमित र एक्जाम्टेट गरी ४ सय, ९१ छात्रा र ५ सय, ६८ छात्र गरी जम्मा १ हजार, ५९ जना र ५ जना ग्रेड बृद्धि गरी जिल्ला भरीबाट १ हजार, ६४ जना परीक्षार्थीले फारम भरेको जिल्ला शिक्षा कार्यालय हुम्लाले जनाएको छ ।
जिल्लामा रहेका २५ वटा माध्यामिक विद्यालय र १ खुला गरी २६ वटा मा.वि. भएकाले यस जिल्लामा सुर्योदय मा.वि. श्रीनगर, मदानादेब मा.वि. मदाना, हिमज्योती मा.वि. सर्केगाड, कोट मा.वि. रोडिकोट, बालमन्दिर मा.वि.सिमकोट र मानसरोवर मा.वि. सिमकोट गरी ६ वटा परीक्षा केन्द्र रहेका छन् । आजको परीक्षा शान्त र अनुशाशीत तबरले संचालन भएकाले ६ वटै परीक्षा केन्द्रमा कुनै किसीमका घटना नघटेको जिल्ला शिक्षा अधिकारी थापाले बताउनुभयो ।
बिगतका बर्षहरुमा आफ्ना बच्चाहरुलाई परीक्षामा चिट चोराउनाका लागि परीक्षा केन्द्र बरीपरी अभिभाबकको घुइचो लागेको पाइन्थ्यो भने यस बर्ष अभिभावकको संख्या बिगतका बर्षहरु भन्दा निकै घटेको पाइएको छ । पछिल्लो चरणमा अभिभाबकहरुमा चिट चोरेर होइन पढेर परीक्षा दिनु पर्छ भन्ने चेतनामा बृद्धि भएकै कारण परीक्षा केन्द्र बरीपरी लाग्ने अविभाबकहरुको घुइचोमा कमी आएको स्थानियबासीको भनाई छ ।



Milan Shrestha । ८ चैत्र २०७४, बिहीबार ११:२४ बजे