टेम्पो दुर्घटना हुँदा १ जनाको ज्यान गयो (अपडेट)


मिलन श्रेष्ठ

८ चैत्र । सुर्खेत । वीरेन्द्रनगर ९ सुर्खेत लाटीकोइली स्वास्थ्य चौकी नजिकै आज राती करिब ८ बजे टेम्पो दुर्घटना हुँदा १ जनाको घटनास्थल मै ज्यान गएको छ ।

वीरेन्द्रनगर बजारबाट लाटीकोइली शिव मन्दिर तिर जादै गरेको टेम्पो बाटोको साइडमा पार्किङ्ग गरिरहेको बा १२च १५०७ नम्बरको मारुति भ्यानमा भे १ ह ९२४ नम्बरको टेम्पो ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक वीरेन्द्रनगर १० सुर्खेत निवासी अन्दाजी ३५ बर्षिय टेकबहादुर सिजापतिको  ज्यान गएको हो । टेम्पोमा सवार अन्य दुइजनालाइ पुरुषलाई थप उपचारकालागि स्थानीय देउती अस्पतालमा पठाइएको छ ।

घाइते हुनेमा वीरेन्द्रनगर १० कै विजय सिजापति र भरत बोगटी रहेका छन् । घाइते मध्य १ जनाको अवस्था गम्भिर रहेको देउती अस्पतालका संचालक खगेन्द्र थापाले बताउनुभयो ।

यता स्थानीयबासीहरुले भने ट्राफिक तथा प्रहरीलाई समयमा खबर गर्दापनि तत्काल नआएकोमा आक्रोश व्यक्त गरेका छन् ।

वीरेन्द्रनगरमा चल्ने टेम्पोहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र अत्याधिक तिब्र गतिमा चलाउने गर्नाले पनि दुर्घटना बढी भैरहेको पाइएको छ । यस तर्फ ट्राफिक प्रहरीको ध्यान जान जरुरी देखिएको छ ।