कर्णाली प्रदेशलाई पर्यटन हव बनाउने मन्त्री भण्डारी


अविरल ढकाल
चैत्र १७, जुम्ला ।

कर्णाली रारा पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि जुम्ला पुगेका मन्त्रीहरुले कृषि अर्गानिक कर्णाली प्रदेश घोषणाका लागि आधार केन्द्र विन्दु जुम्लाबाट सुरु गर्ने बताएका छन् । प्रदेश मुकाम सुर्खेतबाट स्थल मार्ग हुँदै जुम्ला पुगेका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो बताएका हुन् ।

मन्त्री केसीले कर्णाली प्रदेशको जुम्ला भौगोलिक रुपमा सुन्दर भएको र पहिला नै जुम्ला अर्गानिक जिल्लाको रुपमा घोषणा भईसकेकोले पनि प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणाका लागि आधार केन्द्रका रुपमा लिने बताउनुभयो । उहाँले भन्नुभयो यहाँको उर्भर खेतियोग्य जमीन, उत्पादन, भुगोल र पहिचान अरु जिल्ला भन्दा फरक छ । बाहिर जिल्लामा वा क्षेत्रमा जुम्लाको उत्पादन भन्ने वित्तिकै पहिचान फरक हुन्छ र बजार पाउने गरेको छ । यहाँको सिमि, कालीमार्सी चामल, फापरको पिठो लगायत अर्गानिक उत्पादनका रुपमा अन्य जिल्लाका नागरिकहरुले बुझेका छन् मन्त्री केसीले भन्नुभयो जुम्ला लगायत कर्णाली प्रदेशलाई कृषि पर्यटनका रुपमा विकास गर्ने र सोही अनुसार कृषि मन्त्रालयले कार्ययोजना निर्माण गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले कर्णाली प्रदेश अब उत्पीडनबाट मुक्त हुने दावी गर्नुभयो । उहाँले कर्णाली प्रदेशको जल, जमीन र जडीबुटीलाई उत्खनन् गरी समृद्धिको ढोका खोल्ने प्रयत्न भईरहेको भन्दै सोही अनुसार प्रदेश सरकारले काम कारवाही अघि बढाईरहेको बताउनुभयो । कर्णाली प्रदेशको समृद्धि कणाली रारा पर्यटन बर्ष २०७५ बाट सुरु भएको मन्त्री भण्डारीले बताउनुभयो । अब कर्णाली प्रदेशमा पर्यटकिय रुपमा आउने पाहुन तथा अतिथिले असुरक्षितको महसुश गर्ने छैनन् त्यो खालको सुरक्षा व्यवस्थामा कडाई पारिएको छ मन्त्री भण्डारीले थप्नुभयो ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले कर्णाली रारा पर्यटन बर्ष २०७५ को बैशाष १ गते प्रधानमन्त्री केपी ओलीले रारा तालबाटै उद्घाटन गर्ने तयारी भईरहेको बताउदै प्रचुर मात्रामा पर्यटन क्षेत्र भएको कर्णाली प्रदेशमा पर्यटन बर्षमा मात्र होइन आगामी दिनमा पनि लाखौँको हिसावमा आफै पर्यटक आउने वातावरण सिर्जना गर्नका लागि कार्य नीति मन्त्रालयले अघिसारेको खुलासा गर्नुभयो ।

पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले कर्णाली प्रदेशका मन्त्रीहरुलाई स्वागत गर्दै उत्पीडनका रुपमा परिचित यस प्रदेशलाई समृद्ध गर्न सुझाब दिदै अब भाषणमा समृद्धि होइन नागरिकलाई अनुभुति हुने गरी समृद्धि चाहिएको टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेशमा पर्ने १० जिल्लामा पर्यटकिय गन्तव्य स्थल बनाउने र सोही अनुसार पर्यटन करिडोर तय गरीने भएको छ । पर्यटन मन्त्री बुढाका अनुसार प्रधानमन्त्री ओलीले बैशाष १ गते नै कालीकोट पचाल झरना, मुगुको राराताल र डोल्पाको सेफोक्सुण्डो बाटै पर्यटन सम्वन्धी सन्देश फैलाउने कार्य तालिका रहेको जानकारी गराउनुभयो ।

सुर्खेतको देउती बज्यै, काक्रेविहार, बुलबुले ताल, दैलेखका विभिन्न पर्यटन गन्तव्य स्थल, कालकोटको पचाल भरना लगायत अन्य पर्यटकिय स्थल, जुम्लाको खस भाषाको उत्पति क्षेत्र सिंजा, तातोपानी धारा, चन्दननाथ मन्दिर, विश्वको अग्लो स्थलमा कालीमार्सी धान फल्ने छुमचौर ज्यूलो गुठीचौर, पाटन क्षेत्रमा पर्ने ठाकुरज्यू दह, विष्टज्यू दह, रङफेर्ने गिडिदह, डोल्पाको सेफोक्सुण्डो, मुगुको राराताल, हुम्लाको मानसरोबर जस्ता पर्यटकिय गन्तव्य स्थलहरुलाई समेट्ने गरी पर्यटन करिडोर तय गर्ने पर्यटन मन्त्रालयको नीति रहेको छ ।

दक्षिण छिमेकी राष्ट्र भारतसँग कर्णाली प्रदेश जोडिएको छैन आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले भन्नुभयो मुगु हुँदै उत्तरी छिमेरी राष्ट्र चिनसँग नाका जोड्नका लागि नाक्चे लाग्ना र हुम्लाको हिल्सा नाका छिटै खोल्ने तयारी भएको छ । त्यसका लागि संघीय सरकार मार्फत पहल सुरु गरिएको मन्त्री भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हुम्ला, मुगु र डोल्पाका तीन नाका खोल्ने छौँ । त्यसमध्ये हुम्लाको हिल्सा नाका तत्कालै खोल्छौँ,’ । कर्णाली करिडोरलाई दुई लेनको बनाएर मुगु र डोल्पाका उत्तरी नाका पनि खोलिने उहाँको भनाई छ । तिनै नाकाहरुलाई खोलेर उत्तरी क्षेत्रबाट पनि पर्यटक भित्राउने योजना रहेको छ ।

कर्णाली प्रदेशको पर्यटन गन्तव्य स्थल भनेका विशेष गरी साविकका कर्णाली अञ्चलमा पर्ने जिल्लाहरु कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा नै छन् । अहिले यिनै पर्यटकिय स्थललाई गन्तव्य स्थलमा आउने पर्यटकहरु धुलाम्य भएर जाने गरेका छन् । कर्णाली राजमार्गको स्तर उन्नती देखि पर्यटकमैत्री वातावरण सिर्जना गर्ने पर्यटन मन्त्री बुढाले भनाई छ । कर्णाली प्रदेशमा अगामी बर्षमा पर्यटन बर्ष मनाउनु पर्ने छैन आफै पर्यटकको ओइलो लाग्ने मन्त्री बुढाको दाबी छ ।