१२ बुदे घोषणा पत्र सहित प्रदेश स्तरीय महिला मञ्च २०७४ समापन


फाईल फोटो ।

मिलन श्रेष्ठ
चैत, २४ सुर्खेत ।

कर्णाली प्रदेशका महिलाहरुको अवसर, चुनौति , समस्या र सामाजिक कुप्रथालाई अन्त्य गर्न कानुन निर्माण गरी स्थानीयदेखि राष्ट्रियस्तरसम्म लागु गर्न पनि नेतृत्व गर्ने प्रतिवद्धता पनि महिलाहरुले जनाएका छन् । प्रजनन स्वास्थ्य शिक्षामा सबैको पहुँच हुने गरी मनोविमर्श तथा सुचना केन्द्र स्थापना गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा केन्द्रको स्थापना गरी महिलाले न्यायको अनुभुति गर्ने वातावरण श्रृजना गर्ने प्रतिवद्धता महिलाहरु जनाएका छन् । कर्णाली प्रदेशका हरेक जिल्लामा महिलाका लागि स्रोत व्यवस्थापन गर्नका लागि कोषको स्थापना गर्ने प्रतिवद्धता जनाएको उपप्रमुख ढकालले जानकारी दिइन् ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश निर्माणको जिम्मा अब महिलाहरुकै काँधमा भएको बताए । अब सबैको ध्यान प्रदेश निर्माणमा भएको भन्दै उनले प्रदेशभित्र विद्यमान विकृति विसंगतिलाई अन्त्य गर्न महिलाहरुको साथ आवश्यक रहेको बताए ।

घोषणापत्र कार्यान्वयनमा कटिवद्ध भएर लाग्नुपर्ने बताउँदै मन्त्री ज्वालाले आफूलाई कमजोर नठानेर प्रदेशका महिलाको स्तर माथि उठाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।साथै पहिचान गरी समाधानको बाटो खोज्न महिलामञ्चमा भेला भएका महिलाहरुबिचको तीन दिने छलफलबाट घोषणापत्र जारी गरिएको हो । कर्णाली प्रदेशका महिला जनप्रतिनिधी तथा अधिकारकर्मीहरुको सहभागिता रहेको मञ्चबाट उक्त घोषणा पत्र जारी गर्दै महिलालाई नेतृत्वमा पु¥याउनका लागि योजना निर्माणमा सहकार्य गर्ने प्रतिवद्धता जनाईएको छ ।