
१८ पौष, सुर्खेत । एसओएस बालग्राम अन्तर्गत सञ्चालित परियोजनाहरुलाई स्थानीयस्तरबाट आर्थिक श्रोत र सहयोग जुटाएरै भएपनि निरन्तरता दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
बालबालिकाको क्षेत्रमा एसओएसले महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गरिरहेको भन्दै एसओएस बालग्राम सुर्खेतको सामाजिक परीक्षणको सार्वजनिकीकरणमा सहभागी जनप्रतिनिधिहरुले यस्तो जोड दिएका हुन ।
अन्तर्राष्ट्रियदाताहरुको आर्थिक सहयोगमा बाल संरक्षणका विभिन्न पक्षमा काम गर्दै आइरहेको एसओएसले पछिल्लो केहि समय यता सहयोग रकम कटौति हुँदै गएको व्यहोरा प्रतिवेदनमा समाविष्ट गरिएको छ ।
हाल सुर्खेतको बालग्रामअन्तर्गत सुर्खेतमा एसओएस बालग्राम, विद्यालय, दिवा स्याहार तथा बाँकेको नेपालगञ्जमा युवालय र बर्दियामा सामाजिक केन्द्र सञ्चालनमा रहेका छन् । कोभिडका कारण दुई वर्ष यता वैदेशिक आर्थिक सहयोगमा कटौति भएपछि बर्दियाको बाँसगढीमा रहेको मेडिकल केन्द्र भने हाल नगरपालिका अन्तर्गत सञ्चालन हुने गरी हस्तान्तरण गरिएको पाइएको छ ।
एसओएस बालग्राम सुर्खेत अन्तर्गत हाल पारिवारिक स्याहार, परिवार सबलीकरण, नातागोता स्याहार, छात्रवृति कार्यक्रम, व्यवसायिक तथा पेशागत तालिम र सहयोग परियोजना सञ्चालनमा रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले एसओएसले राज्यले निर्वाह गर्नुपर्ने दायित्व समेत निर्वाह गर्दै आइरहेको भन्दै प्रशंसा गर्नुभयो । बाल अधिकार संरक्षणमा विशुद्ध अभिभावकीय भूमिकामा रहेको एसओएसलाई सहयोग तथा समन्वय गर्ने प्रतिवद्धतापनि उहाँले जनाउनुभयो ।
हाल एसओएस बालग्राम रहेको वडा नं. ४ का वडाध्यक्ष नीलकण्ठ खनालले पनि बालबालिकाको संरक्षणदेखि शिक्षा, स्वास्थ्य हुँदै स्वालम्बनसम्ममा एसओएले महत्वपूर्ण सहयोग पुयाउँदै आएको भन्दै परोपकारी परियोजनाहरु निरन्तर रहनुपर्नेमा जोड दिनुभयो ।
बर्दियामा सामाजिक केन्द्र सञ्चालनमा रहेको बाँसगढी नगरपालिका वडा नं. ४ वडाध्यक्ष रजमान चौधरीले एसओएसका परियोजनाहरुलाई बन्द हुन नदिने अठोट व्यक्त गर्दै सहयोग र सहकार्य निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो ।
बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले कोभिडको महामारीका बीचपनि बालग्रामले आवश्यक सुरक्षा सावधानी अपनाएर आफ्ना गतिविधिहरुलाई निरन्तरता दिएको जानकारी गराउनुभयो । कोभिड र लकडाउनका बेला बालबालिकालाई पर्नसक्ने आर्थिक, सामाजिक, शैक्षिक तथा मनोवैज्ञानिक प्रभावलाई मध्यनजर गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
यसैगरी एसओएस चाइल्ड क्लब सुर्खेतले बराहताल गाउँपालिका सुर्खेतका ४० कोभिड प्रभावित परिवारलाई सामुदायिक सहयोग कार्यक्रमको रुपमा खाद्यान्न सहयोग गरेको जनाइएको छ । हाल आर्थिक सहयोग कटौति हुँदै गएको अवस्थामा स्थानीय दाताहरुबाट सहयोग जुटाइरहेको बालग्रामले नेपालगञ्जका ८ जना स्थानीय सहयोगदातालाई दोसल्लासहित सम्मान पनि गरेको छ ।
अभिभावकीय स्याहार नपाएका बालबालिकाहरुको पालनपोषण, शिक्षा स्वास्थ्य तथा बालअधिकारको संरक्षण एवं पैरवीका लागि सुर्खेतको कालागाउँमा सन् १९८६ मा एसओएस बालग्रामको स्थापना भएको हो ।।



Prawash Kumar Shakya । १८ पुष २०७८, आईतवार १२:४१ बजे