अल्छी प्रवृत्तिले समृद्धि सम्भव छैनः मुख्यमन्त्री शाही


५ बैशाख, कालिकोट । मुख्यमन्त्री वनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरना पुग्नुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने बताउदै सबै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पचालझरना पर्यटन तथा साँस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो-‘अहिले सम्म हामी अर्काका भरमा बाँच्यौं, अव कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर वन्नुपर्छ’ ।

पर्यटन र कृषि मार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर बनाउने योजना सरकारले लिएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी बजेटमा समेत विशेष व्यवस्था गर्ने बताउनुभयो । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उहाँको भनाई छ ।

राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अब विकास र समृद्धिको नेतृत्व लिने बताउनुभयो ।

मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफुले प्राप्त गरेको बताउदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पुरा गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।