हिंसापछि सामाजिक सुरक्षा सम्बन्धी निर्णय फिर्ता


निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगाले देशभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको सामाजिक सुरक्षा सुधार सम्बन्धी कदमहरू फिर्ता लिएका छन्। उनले निजी क्षेत्रलाई वार्तामा संलग्न हुन पुन: आग्रह गर्दै हिंसा रोक्न अपिल गरेका छन्।

तर निजी क्षेत्रका नेताहरूले सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन्।

बुधवार निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि लाभग्राही र विद्यार्थीहरू सडकमा निस्किए यता भएका हिंसात्मक प्रदर्शनमा निकरागुवामा कम्तीमा २५ जना मारिएको अधिकारवादी समूहहरूले जनाएका छन्।

फिर्ता

अन्तत: राष्ट्रपति डानियल ओर्टेगालाई सरकारको निर्णय फिर्ता लिनु एकमात्रै उपलब्ध समाधान भएको लागे जस्तो देखिन्छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले कैयौँ मानिसको ज्यान समेत लिने गरी व्यापक विरोध निम्त्याएको सामाजिक सुरक्षा प्रणालीतर्फका सुधारका कदमहरू फिर्ता लिएको जनाए।

‘आइएनएसएस’ भनिएको उक्त आदेशले मूख्य रुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको थियो।

विद्यार्थी समूहदेखि विपक्षीहरू समेत ओर्टेगा सरकारकोविरुद्ध उभिएका थिए।

अपेक्षा

पछिल्लो निर्णयले अमनचयन सुनिश्चित गर्ने राष्ट्रपति ओर्टेगाले विश्वास लिएका छन्। तर उनले सुरक्षा कायम गर्न सडकमा सेना समेत परिचालन गरिसकेका छन्। उनका आलोचकहरूले सरकारी निर्णय एकदमै ढिला आएको र सरकारले पछिल्लो संकटलाई राम्ररी सम्बोधन नगरेको बताउने गरेका छन्। बीबीसी बाट