व्यवसायीका समानान्तर कार्य


असन्तुष्ट पक्ष शुल्क उठाउँदै

धुलियाविटमा कर संकलन गर्दै संयुक्त व्यावसायी । फोटोः विनोद ढकालको फेसबुकबाट
धुलियाविटमा कर संकलन गर्दै संयुक्त व्यावसायी । फोटोः विनोद ढकालको फेसबुकबाट

सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघबाट अलग भएको घोषणा गरेका व्यवसायीले संघको समानान्तर भएर काम गर्न थालेका छन् । संघसँग असन्तुष्ट बनेर समानान्तर संस्था दर्ता गर्ने बताएका जिल्लाका व्यवसायीले संघको समानान्तर भएर आफ्ना क्रियाकलाप अगाडि बढाएका छन् । उनीहरूले हालसम्म सुर्खेत उद्योग वाणिज्य संघले संकलन गर्दै आएको विभिन्न शुल्कसमेत उठाउन थालेका छन् ।

जिल्लाका व्यवसायीको छाता संस्थाका रूपमा रहेको सुर्खेत उद्योग वाणिज्य संघको अघिल्लो वर्ष सम्पन्न निर्वाचनका विषयलाई लिएर व्यवसायी विभाजित भएका हुन् । संघको वर्तमान नेतृत्वले सबै व्यसायीलाई समेटन् नसकेको र एकलौटीरूपमा संस्था चलाएको भन्दै असन्तुष्ट बनेका व्यवसायीले अन्नतः समानान्तर भएर आफ्ना क्रियाकलाप सुरु गरेका छन् ।

विभिन्न ११ राजनीतिक दलसँग निकट व्यवसायी आवद्ध संयुक्त व्यवसायी समूहले बुधबारबाट विभिन्न शुल्क उठाउन थालेको छ । उनीहरूले वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका धुलियाबिटमा जिल्लाभित्र प्रवेश गर्ने सवारीबाट शुल्क लिन थालेका हुन् ।

धुलियाविटमा कर संकलन गर्दै संयुक्त व्यावसायी । फोटोः विनोद ढकालको फेसबुकबाट
धुलियाविटमा कर संकलन गर्दै संयुक्त व्यावसायी । फोटोः विनोद ढकालको फेसबुकबाट

गत वर्ष सम्पन्न निर्वाचनका विषयलाई लिएर व्यवसायी विभाजित भएका हुन् ।

यसअघि नै सुर्खेत उद्योग वाणिज्य संघको समानान्तरमा काम गर्ने उद्घोष गरेका असन्तुष्ट व्यवसायीले सवारी प्रवेश शुल्क संकलन गर्न थालेका हुन् । उनीहरूले धुलियाबिटमा आफ्नो कर्मचारी नै राखेर सवारी प्रवेश शुल्क संकलन अभियान थालेका हुन् ।

शुल्क उठाउनका लागि असन्तुष्ट व्यवसायीले अर्को संस्था दर्ता नहुँदासम्म नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतको लेटरप्याड र रसिद प्रयोग गर्ने निर्णय गरेका छन् । सोही निर्णय अनुसार नै आफूहरूले बुधबारबाट शुल्क उठाउन सुरु गरेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतका अध्यक्ष सुर्यविक्रम थापाले बताए ।

उनले भने, ‘संयुक्त व्यवसायीको निर्णअनुसार हामीले काम सुरु गरेका छौं’, अब हामीले सुर्खेत उद्योग वाणिज्य संघ छोडेको औपचारिक रूपमा नै पुष्टि भयो ।’ उनले आफूहरूले जिल्लामा प्रवेश गर्ने ठूला सवारीसाधनबाट एक सय र साना सवारीसाधनबाट ५० रुपैयाँका दरले व्यवसायिक सेवा शुल्क लिन थालेको जानकारी दिए ।

हाल सुर्खेत उद्योग वाणिज्य संघले यो शुल्क उठाउँदै आएको थियो । ‘हामीले कसैलाई जबरजस्ती गरेका छैनौं, स्वेच्छिक रूपमा शुल्क मागेका छौं’, थापाले भने, ‘व्यवसायी दोहोरो मारमा पर्दैनन्, हामीले हाम्रो समर्थन गर्ने व्यवसायीबाट शुल्क लिनेछौं ।’ संयुक्त व्यवसायीले विभिन्न शुल्कबाट संकलन भएको रकम व्यवसायीको क्षमता विकास र हितमा खर्च गर्ने जनाएका छन् ।

साथै उनीहरूले अब आफूहरूले सुर्खेत उद्योग वाणिज्य संघलाई कुनै पनि शुल्क नतिर्ने घोषणा गर्दै अन्य व्यवसायीलाई पनि नर्तिन सार्वजनिक आग्रह गरेका छन् । असन्तुष्ट बनेका व्यवसायीहरूले अब संघलाई सवारी प्रवेश शुल्क, नयाँ सदस्यता शुल्क, सदस्यता नविकरण शुल्क र फर्म दर्ता शुल्क पनि नबुझाउने भएका छन् । जिल्लाका अन्य व्यसायीहरू यो शुल्क अब आफूहरूले नै संकलन गर्ने व्यवसायीको तयारी छ ।

गत वर्ष सम्पन्न निर्वाचनका विषयलाई लिएर व्यवसायी विभाजित भएका हुन् । सुर्खेत उद्योग वाणिज्य संघको अघिल्लो वर्ष सम्पन्न निर्वाचनमा कांग्रेस निकट व्यवसायी विजयी भएका थिए ।

त्यसपछि निर्वाचनमा गैरमतदाताले भोट हालेको र धाँधली गरिएको आरोप लगाउँदै ११ राजनीतिक दल निकटका व्यवसायी संघबाट अलग भएका हुन् । एक वर्षसम्म पनि उक्त विवादको टुंगो नलागेपछि कांग्रेस निकटका व्यवसायीहरू बाहेक जिल्लाका अन्य व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघ छोडेका हुन् । संघमा अहिले कांग्रेस निकट व्यवसायीले एकलौटी निर्वाचन जितेर नेतृत्व हात पारेका छन् ।

समाचार साभारः अन्नपूर्ण पोष्ट