
अविरल ढकाल
वैशाख १०, जुम्ला ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि सर्वसाधारणलाई जेठ ५ गतेबाट खुला गरिने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको चैत २६ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा पाइने यार्सा संकलन गर्न जिल्लाका बासिन्दा र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई खुला गर्ने निर्णय गरेको हो ।
जेठ १ देखि ४ गतेसम्म वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले ५ गते बिहान वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गौरीकान्त चौलागाईंले जानकारी दिनुभयो । चौलागाईंका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रतिव्यक्ति १ हजार ५ सय र बाहिरी जिल्लाबाट आउने संकलनकर्ता बाट २ हजार कर संकलन गरिने भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका—२ मुगु गाउँको रिमार, ठूलोकोखी, स्यानो कोखी, चाल्ने, छापाखोला, हङदङ, सोही गाउँपालिको—१ मा रहेको से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्र र वडा नम्बर ८ मह लेखमा सर्वसाधारणलाई यार्सा संकलनका लागि खुला गरिने र उक्त क्षेत्रबाट उठेको कुल रकममध्ये ३० प्रतिशत व्यवस्थापन खर्च, ३० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत २ नम्बर वडाको विकासमा विनियोजित गरिनेछ ।
वडा नम्बर ८ महलेखबाट उठेको रकम मध्ये १० प्रतिशत गाउँपालिका र बाँकी रकम वडाको विकासमा खर्च गरिने र वडा नम्बर २ मा रहेको से फोक्सुण्डो निकुञ्ज क्षेत्रबाट उठेको कुल रकमको १० प्रतिशत कार्मारोङ गाउँपालिकालाई छुट्याइनेछ भएको छ ।
जेठ ५ गतेबाट असार ५ सम्म यार्सा पाइने स्थान संकलनकर्तालाई खुला गरिने भएको र संकलन अवधि भर संकलकलाई कुनै असुरक्षा र अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
कर्णालीका मुगु, जुम्ला र डोल्पामा यार्सागुम्बा पाईने उर्वरभूमि मानिन्छ । यार्सागुम्बा संकलनको समयमा यहाँका अधिकाशं विद्यालयका विद्यार्थीहरु स्कुल नगएर पाटन तिर यार्सागुम्बा संकलन गर्न जाने भएकोले यो याममा विद्यालय बन्द हुने र शिक्षक पनि यार्सा संकलन गर्न जाने गरेका छन् ।
आर्थिक विपन्नताका कारणले विद्यार्थीहरुले आफ्नो पढाई खर्च जुटाउनको लागि पनि बाध्य भएर एक महिना देखि दुई महिना विद्यालयको पढाई छोडेर पाटनमा यार्सागुम्बा संकलन गर्न जाने गरेका छन् । पाटनमा संकलन गरेको यार्सागुम्बाबाट भएको आम्दानीले जुम्लाका विद्यार्थीहरुले हिउँदको जाडो विदामा टुयसन कक्षा लिने गरेका छन् ।
Milan Shrestha । १० बैशाख २०७५, सोमबार १०:०२ बजे