अविरल ढकाल,
वैशाख १४, जुम्ला ।
नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझैपनि छोराछोरी बीचको विभेद अन्त्यमा अपेक्षाअनुसार उपलब्धि हाँसिल हुन सकेको छैन । सरकारले छोराछोरीलाई स्वास्थ्य, शिक्षा तथा विभिन्न अबसर समान तरिकाले दिने नीति भने ल्याए पनि लागु भएको भने छैन । तर सहरी क्षेत्रमा केही शिक्षित व्यक्तिहरूले छोराछोरी बिचको कुनै भेदभाव त्यति राखेको पाइँदैन तर, दुर्गम कर्णाली क्षेत्रका ग्रामिण बस्तीहरूका किशोरीहरू अझै पनि शिक्षाको पहुँचबाट टाढा छन भन्दा तितो यथार्त हो । पराई घरमा जाने छोरीलाई पढाउनु हुदैन, छोरीहरू घरधन्दा मेलापात गर्ने जात हो भनेर पढेर के नै गर्न सक्छन् र भन्ने जस्ता चेतनाको अभावले मानिसको मस्तिष्क अझै परिवर्तन हुन सकेको छैन ।
छोराछोरी दुवैलाई रहेक क्षेत्रमा सम्मान अबसर पाउनु पर्छ भनेर पछिल्लो समय सानै उमेरमा विबाह गर्ने, बसाई सराई गर्ने, बिचैमा सामुदायिक विद्यालयबाट निजि विद्यालयमा जाने, कालापहाड जाने लगायत कारणले गर्दा जुम्ला सहित कर्णालीका प्राय किशोरीहरू विद्यालय क्षेत्र बाहिर रहेका छन् ।
संख्याको हिसाबले विद्यालयमा छात्रभन्दा छात्राहरू बढि भएपनि एसइई दिने बेलामा मात्रै बढि किशोरी आउने गरेपनि प्रावि देखि माध्यमिक स्तर सम्म ६० प्रतिशतले किशोरी घट्ने गरेको पाइएको छ । किशोरीहरूलाई विद्यालय क्षेत्र सम्म पु¥याउन भनेर भएका विभिन्न कार्यक्रमहरूले पनि उपलब्धी हाँसिल गर्न सकेको अबस्था छैन् । किशोरी मैत्री शिक्षा दिने छोराछोरी विचको भेदभाव नगर्ने सरकारको योजना कार्यान्वयन नहुँदा उलपब्धी शुन्य भएको छ । बदलिदो समयमा छोरीहरू मेलापात र छोराहरू मात्रै विद्यालय जाने, सरकारले योजना समृद्ध राष्टको योजना मात्रै बनाउने हो भने, आखिर परिणाम कहिले देखिने ? थोरै योजनाबाट बढि काम र उपलब्धि हाँसिल गर्न अब प्रदेश सरकार लाग्नु आवश्यक भएको छ ।
जुम्लाका १० प्रतिशत किशोरी अहिले पनि विद्यालयको पहुँच बाट टाढा रहेका छन् । माथि उल्लेख गरिए झै विभिन्न कारणले यहाँका किशोरी विद्यालय जानबाट बन्चित छन् । आधारभुत विद्यालय देखि माध्यामिक विद्यालय गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन् भने, जुम्लाका सामुदायिक विद्यालयमा मात्रै ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत छन् । त्यसको १० प्रतिशत विद्यार्थी अर्थात (३ हजार ६ सय १८) जना किशोरीहरू विद्यालय क्षेत्र भन्दा बाहिर छन् । तर यस विषयमा शिक्षा सँग सरोकार राख्ने निकायहरूले कुनै चासो लिएको देखिदैन ।
प्रत्येक वर्षको शैक्षिक सत्रमा किशोरीहरूको संख्या बढाउने लक्ष्य लिए पनि विद्यालय भर्ना हुदै छोड्दै गरेकाहरूको विषयमा कुनै चासो नदिँदा विद्यालय बाहिर जाने किशोरीहरूको संख्या बढ्न थालेको भगवाती प्रावी भण्डारीवाडाका प्रधानाध्यापक भिमबहादुर भण्डारीले बताए । यस विषयमा अब गाउँ शिक्षा समितिले विशेष ध्यान दिनु पर्नेमा समेत उनले जोड दिए ।
जुम्लामा प्रावि ९१, निमावी ३० र माध्यामिक विद्यालय ४८ वटा रहेका छन् । ईसिडिमा २ हजर, ९ सय ५६, प्रावितहमा छात्र छात्रा गरी, १९ हजार २ सय ८४, निमावी तहमा ७ हजार ७ सय २९, माध्यामिक तहमा ४ हजार १ सय ४१ जना छात्रछात्राहरू अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेशदत्त देवकोटाले बताए । उनका अनुसार यसमा पनि सदरमुकाम क्षेत्र भन्दा ग्रामिण बस्तीका किशोरीहरू बढि विद्यालय क्षेत्र बाहिर छन् । यस विषयमा स्थानीय सरकारले अब विशेष ध्यान दिएर किशोरी मैत्री कार्यक्रम गर्न आवश्यक रहेको छ ।
जुम्ला जिल्लाको तथ्यांक हेर्दा बिचमै पढाई छोडेर विद्यालय बाहिर जाने दलित किशोरीहरू बढि रहेका छन् । विद्यालय बाहिर रहेका जुम्लाका ३ हजार बढि किशोरीमध्ये ७५ प्रतिशत दलित किशोरीहरु रहेका छन् । अझै पनि कर्णालीका दलित समुदायले छोरीलाई पढाउनु पर्छ । छोरा सरह छोरीले केहि गर्न सक्छन् भन्ने मानसिकतामा विकास हुन सकेको छैन । जसले दलित समुदायका किशोरीहरू विद्यालयको पहुँच भन्दा बाहिर छन् ।
अन्य जातिको हिसावमा दलित जातिको आर्थिक अवस्था कमजोर भएकै कारणले पनि जुम्लाका दलित किशोरीले पढ्ने लेख्ने उमेरमा नै अधुरै पढाई छोडेर घर धन्दामा सिमित भएका छन् । कति जनाको त मनमा पढ्ने मन इच्छा भए पनि विद्यालय जान र पढ्न बाट बञ्चित भएका छन् । उनिहरूको एकमात्रै आशा कुनै दाता तथा सरकारले निशुल्क पढाउने व्यवस्था गरिदिए पढाउने आशा गरेका छन् । आर्थिक अभावले नपढाए पनि कसैले त अर्का घरमा जाने छोरीलाई पढाएर के काम भन्ने जस्ता मनसायका कारण दलित समुदायका किशोरी विद्यालय बाहिर बढि भएको विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताए । दलित समुदाय लक्षित कार्यक्रम संचालनमा अबको स्थानीय सरकारले पहल गर्नु पर्ने देवकोटाले सुझाब दिए । जसले विद्यलाय बाहिर रहेका किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सकिन्छ ।
सरकारले दलित छात्रबृत्तिका रूपमा दिने रकमले वर्ष भरी कापी कलम पनि किन्न पुग्दैन चन्दननाथ नगरपालिका १ की रिता सार्कीले भनिन्, घरमा दुईजना दाई छन् । हामी सबै पढाउने खर्च धान्न सक्ने अबस्था छैन । पढाई छोड्नु रहर नभई बाध्यता भएको उनको दुखेसो छ । सार्की एक प्रतिनिधि पात्र मात्रै हुन्, उनको जस्तै दुखेसोे जुम्लाका धेरै किशोरीहरूको छ । पढ्ने रहर हुँदा पनि आर्थिक अबस्था कमजोर भएपछि विद्यालय छोड्नुको विकल्पमा अरु केही छैन । अलिकति नाम लेख्ने सम्म भए हामीलाई पुरा हुन्छ । तातोपानी गाउँपालिकाकी माया नेपाली भन्छिन्, उच्च शिक्षा पढाउन्जेल सम्म खर्च धान्न गाह्रो हुन्छ । छोरालाई लगानी गर्ने कि छोरीलाई आमा बाबु पनि दोधार हुन्छन् । त्यसैले विचमै आफुले पढाई छोडेको नेपालीले बताइन् । घरको अबस्था कमजोर भएकोले विहान बेलुका छाक जुटाउन मजदुरी आफैले गर्नु पर्छ । विद्यालय जाने फुर्सद नभएको चन्नदनाथ नगरपालिका १ की सार्कीले बताईन । छात्रबृतिले न पोशाक किन्न पुग्यो नत कापी कलम किन्न पुग्थ्यो । त्यसैले रहर हुँदा पनि पढाई छोड्नु बाध्यता जस्तै भएको सार्कीले आफ्नो दुखेसो सुनाईन । कापी कलम किन्न पनि नपुग्ने छात्रबृति दिनु भन्दा सरकारले बरु आर्थिक अबस्था हेरेर निशुल्क पढ्ने व्यवस्था गर्नु पर्ने दलित किशोरीहरूको माग छ ।
स्थानिय तातोपानी गाउँपालिका २ नम्बर निवासी हर्केश दमाईकी छोरी कक्षा ५ मा पढ्न उनको ४ कक्षाको भर्ना देखि वर्षमा झण्डै २० हजार खर्च लाग्ने बताउँछन् । वर्षभरी दुई खाले कपडा, ट्युसन, कापीकलम लगायत अन्य खर्चका कारण शिक्षा महंगो भएको उनको गुनासो छ । त्यस्तै तिला गाँउपालिका ३ की स्थानीय दिलमाया शाहिकी छोरी बोर्डिङ्मा अहिले २ कक्षा पढ्छन् गाउँमै तर उनको पनि खर्च झण्डै २५ हजार बढि वर्षमा हुन्छ । त्यस्तै रण बुढाका नाती गंगा मावि पेरेमा कक्षा ४ मै पढ्छन् । उनका अनुसार गाउँकै विद्यालय भएर होला १० हजार देखि १५ हजार वर्षमा खर्च हुने उनले बताए । यस्तै, कालो कामीकी छोरी अहिले ६ कक्षा पढ्दा पढ्र्दै आर्थिक अभावले नपढाएको उनले बताए ।
सदरमुकामका निजि विद्यालयहरूमा गाउँबाट पढाउदा नर्सरी देखि ३ कक्षा सम्मको प्रत्येक वर्षको खर्च झण्डै ३० हजार बढि आउने गरेको स्थानियले बताएका छन् । जुम्लाका प्राय स्थानियहरूले सरकारले दिने छात्रबृद्धि प्रयाप्त नहुने बताएका छन् । आर्थिक अबस्था कमजोर भएकै कारण शिक्षाबाट बन्चित किशोरीहरूलाई विद्यालयको पहुँचमा ल्याउन कुनै सहयोगको अपेक्षा रहेको भगवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले बताए ।
हरेक स्थानीय सरकारले गुणस्तरी शिक्षा, आर्जनका लागि लाखौ बजेट छुटाएको बताईरहेका छन् । परिणाममा ग्रामिण बस्तीका किशोरी बिचमै विद्यालय छोडर चुलो चौको र मेलापातमा सिमित भएका छन् । त्यस तर्फ स्थानीय सरकारले खासै चासो दिएको छैन् ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले भने, लाखौ बजेट छुटाउनु भन्दा किशोरी शिक्षा कार्यक्रमहरूलाई जोड दिनु पर्छ । जसले विद्यालय बाहिर रहेका किशोरालाई शिक्षाको पहुँचमा ल्याउन सहज हुन्छ ।
३६ हजार बढि जुम्लाका विद्यार्थी मध्ये ६० प्रतिशत किशोरी भएपनि १० प्रतिशत अहिले सम्म विद्यालय बाहिर हुनु दुखद् पक्ष हो । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले भनिन्, सबै किशोरीको तथ्यांक संकलन गरी विद्यालयको पहुँचमा ल्याउन विशेष पहल गरिने छ । शिक्षा क्षेत्रको विकासका लागि छुटाइएको बजेट किशोरी शिक्षामा लगानी गरे उपलब्धी हाँसिल गर्न सकिने उनको आशा छ । शिक्षा क्षेत्रको विकासका लागि योजना सबै स्थानीय तहले बनाएका छन् । यस भन्दा अगाडी केन्द्रिय सरकारले पनि अरबांै रकम शिक्षामा लगानी गरेको थियो तर उपलब्धी भने चिन्ता जनक देखिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भने, अब किशोरी शिक्षा कार्यक्रममा जोड दिदै उनिहरूको इच्छा अनुसारको सिप सिकाउने जस्ता कार्यक्रम गर्न स्थानीय तहलाई निर्देशन दिने बताए । स्थानीय तहले लाखौं छुटाएर नानाथरी काम गर्छौ भनेर योजना मात्रै बनाएर समृद्धी हुदैन जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद श्रेष्ठले थोरै योजनामा बढि उपलब्धी मुलक काम गर्न तर्फ स्थानिय सरकार लाग्नु पर्ने उनको सुझाब दिए । नभए लाखौ, करोडौका योजना मात्रै बनाउने तर लागु नगर्ने भए योजनाले मात्रै परिवर्तन सम्भव नहुने भन्दै योजना कार्यान्वयमा विशेष ध्यान सबैको जान जरुरी छ ।
किशोरीहरू विद्यालयको पहुँचबाट बाहिरनुको अर्को मुख्य कारण विद्यालयमा उपयुक्त किशोरी मैत्री वाताबरण नहुनु पनि हो । छात्रछात्राको छुटा्छुटै शौचालय नहुनु, महिनावारी हुँदा प्याड चेन्ज गर्ने ठाउँ नहुनु, महिनावारी हुँदा सहज तरिकाले कक्षामा बस्ने वाताबरण नहुनु लगायतका समस्याहरूले गर्दा जुम्लाका किशोरी पढ्दै विचमा विद्यालय छोड्ने गरेको चन्दननाथ माविकी शिक्षिका बविता शाहिले बताईन । यसले गर्दा समाजमा बालविवाह पनि हुने गरेको छ । बालविवाहले पनि किशोरीको जीवनलाई नरकिय जीवनमा परिणित गरेको छ । उमेर नपुगेरै विवाह गर्नु, कलिलै उमेरमा आमा बन्नु, यसले गर्दा पाठेघरको क्यान्सर भएर अकालमै मृत्यका सिकार हुने गर्दछन् । उनकाअनुसार विद्यालयमा पुर्ण रूपमा किशोरी मैत्री वाताबरण सृजना गर्नु पर्छ । भर्ना अभियनालाई झण्डा र नारामा मात्रै सिमित गर्नु हुदैन । उनले थपिन् बढि भन्दा बढि किशोरीलाई विद्यालयमा भित्राउने लक्ष्य गरी जनचेतना मुलक कार्यक्रम संचालन गरीनु पर्दछ ।
जुम्लामा क्रमिक बढ्दै गएको किशोरी विद्यालय क्षेत्र बाहिर जाने दरलाई रोक्न सबै सरोकारवालाहरूले किशोरी मैत्री शिक्षा संचालन गर्ने गाउँगाउँमा परामर्शका कार्यक्रमहरू गर्नु पर्ने शिक्षा प्रेमीहरूले जोड दिएकाछन् ।



Milan Shrestha । १४ बैशाख २०७५, शुक्रबार ०८:४७ बजे