‘रक्तदान गर्दा शरीर घट्दैन, अझ स्वस्थ र ऊर्जावान् भइन्छ’ – रक्त सम्राट कर्माचार्य


नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानका बारेमा समाजमा व्याप्त भ्रमहरू चिर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । कर्माचार्यले आज गैंडाकोटमा आयोजित ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो केन्द्रीय अधिवेशनमा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले रक्तदान गर्दा शरीर कमजोर हुने नभई उल्टो नयाँ रगत बन्ने प्रक्रिया सक्रिय भएर शरीर अझ फुर्तिलो र स्वस्थ हुने आफ्नो अनुभव सुनाउनुभयो ।

“धेरैलाई लाग्छ कि रक्तदान गरेपछि शरीर गल्छ वा कमजोरी हुन्छ, तर त्यो बिल्कुल गलत हो । मैले १८६ पटक रक्तदान गरिसकेँको छु , म अझै स्वस्थ छु । हाम्रो शरीरमा भएको रगत खेर जान दिनुभन्दा कसैको जीवन बचाउन प्रयोग गर्नु नै वास्तविक धर्म हो ।

कर्माचार्यले रक्तदानलाई एक सामाजिक कर्तव्यका रूपमा लिनुपर्ने र युवाहरूले यसमा अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । नियमित रक्तदानले हृदयघातको जोखिम कम गर्ने, कोलेस्ट्रोल सन्तुलनमा राख्ने र शरीरमा नयाँ रक्तकोषिका उत्पादनमा मद्दत पुग्ने सन्देश प्रवाह गरिएको छ । उहाँले भन्नुभयो ।

सुइको डर वा स्वास्थ्य बिग्रने डर त्यागेर अस्पताल वा रक्तदान केन्द्रसम्म पुग्न उहाँले सबैलाई प्रेरित गर्नुभएको । दान गरिएका चिजहरूमध्ये रगत यस्तो चीज हो जसको कुनै विकल्प छैन, त्यसैले “रक्तदान नै जीवनदान” भन्ने नारालाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।

कर्माचार्यले आफ्नो लामो अनुभवका आधारमा रक्तदान गर्दा आत्मसन्तुष्टि मिल्ने र त्यसले मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा रगतको अभावलाई शून्यमा झार्न प्रत्येक स्वस्थ नागरिकले वर्षमा कम्तीमा ४ पटक रक्तदान गर्नुपर्ने धारणा राख्नुभयो ।

सोसाइटीले आज नै सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई सम्मान गरेको छ । सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार कर्माचार्यले हालसम्म १८६ पटक रक्तदान गर्दै समाजमा उदाहरणीय योगदान पुर्‍याउनु भएकोले उहाँको यो योगदानले रक्तदान अभियानलाई सशक्त बनाउनुका साथै नयाँ रक्तदाताहरूलाई प्रेरणा दिने विश्वास गरिएकोले उहाँको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै अधिवेशनले अन्जन दवाडीको अध्यक्षतामा सोसाइटीको नयाँ कार्यसमिति चयन गरेको छ ।