११ बैशाख, कास्की । कास्कीको पोखरामा जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की शाखाका आजिवन सदस्य तोपबहादुर क्षेत्रीको ५०औं जन्मोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाज कास्की शाखाका अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य तथा समाजका शाखा अध्यक्ष दिपेन्द्र अधिकारीले क्षेत्रीलाई रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको थियो ।

समाजका अध्यक्ष अधिकारीले हरेक यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै रक्तदानको शुरुवात गरेर नियमित रक्तदान गर्दै जाने हो भने रगत लिनेको भन्दा दिनेको भिड हुने बताउँदै उहाँले सम्पूर्ण यूवाहरुलाई पवित्र कार्य रक्तदानमा समावेश हुन आग्रह गर्नुभयो । त्यस्तै प्रमुख अतिथि कर्माचार्यले क्षेत्रीलाई जन्मोत्सवको तथा सम्पूर्ण सहभागी रक्तदाताहरुलाई रक्तदान गरि मानवीय जीवनको सर्वोत्तम कार्य गरेकोमा शुभकामना दिनुभयो ।
क्षेत्रीले आफ्नो ५०औं जन्मोत्सवमा ५६औं पटक रक्तदान गर्न र गराउँन पाउँदा ज्यादै नै आनन्द महशुस गरेको बताउनुभयो ।



Prawash Kumar Shakya । ११ बैशाख २०८३, शुक्रबार १९:२७ बजे