
पवन जायसवाल
नेपालगंज (बाँके) ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४४औं जिल्ला बार्षिक साधारण सभा बाँकेको खजुरामा सम्पन्न भएको छ ।
नेरेसो खजुरा उप–शाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा, कार्यक्रमका प्रमुख अतिथि तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि.क.ले पानसमा दीप प्रज्वलित गरी हेनरी डियूनाको तस्बीरमा माल्र्यापण गरी ४४औं जिल्ला वार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि.क.ले विपद् व्यवस्थापनका क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउँदै आगमी दिनमा पनि पालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोद कुमार शर्माले रेडक्रसको सेवा समुदायस्तर सम्म निर्वाध रुपमा प्रवाह भैरहेको बताउँदै नेपाल सरकारको वर्तमान संरचना अनुसार रेडक्रसको संशोधित विधान २०८२ मा महिलाको सहभागिता सुनिश्चित गरेको जानकारी गराउनु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले नेपाल रेडक्रसको प्रचलित विधानको बारेमा स्पष्ट पार्दै २०८३ बैशाख २६ गते ४ वटा प्रदेशमा पालिका शाखाको निर्वाचन हुने कार्यक्रम रहेको बताउनु जानकारी गराउँदै उहाँले अबका दिनमा रेडक्रसकर्मीहरुले रेडक्रसका सिद्धान्त मुल्य मान्यता आत्मसाथ गर्दै आगाडी बढनु पर्ने कुरामा जोड दिदै लामो समय देखि नेरेसोको विधान संशोधनका लागि प्रयास भएता पनि हालै मात्र २०८२ पौष २५ गते विधान संशोधन महाधिवेशनबाट पारित भई नेपाल सरकारबाट प्रमाणिकरण भएको र सोही अनुसार रेडक्रसका गतिविधि संचालन भईरहेको कुरा बताउनु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हाल रेडक्रस फर्किएको बताउँदै स्थानीय सरकार र अन्य सरोकारवाला निकायले रेडक्रस प्रति देखाएको सदभाव र सहयोग प्रति अभार व्यक्त गर्नु भएको थियो ।

४४औं जिल्ला बार्षिक साधारण सभामा नेरेसो बाँके शाखाका मन्त्री अजीजअहमद सिद्दिकीले आ.ब.२०८१÷२०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधीमा १ लाख ४९ हजार ७ सय २० जना लाभाविन्त भएको जानकारी दिँदै आगमी आ.ब.२०८३÷२०८४ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब. आ.ब.२०८१÷२०८२ को लेखा परीक्षण प्रतिवेदन र आ.ब.२०८३÷२०८४ का लागि रु.३ करोड ५० लाख ३७हजार ६ सयको बजेट प्रस्तावित बजेट पेश गर्नु भएको थियो । सभासद्हरुले उक्त प्रस्तुत प्रतिवेदन माथि छलफल गरी कार्यक्रम तथा बजेट स्वीकृत गरेका थिए ।
समुदायस्तरमा रेडक्रसका मानवीय सेवाप्रवाह गरी जिल्ला स्तरमा १७उपशाखाहरू मध्ये उदाहरण प्रस्तुत गरेको नेरेसो खजुरा उपशाखालाई उत्कृष्ट सेवाको कदर स्वरूप शील्ड तथा प्रशंसा पत्र–प्रदान गरी सम्मान गरिएको थियो । उक्त ४४औं जिल्ला बार्षिक साधारण सभा कार्यक्रममा १७ वटा उप–शाखाका प्रतिनिधि, नेरेसो बाँकेका कर्मचारी र प्रादेशिक रक्त सञ्चार केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद बिश्वकर्माले बताउनुभयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको यशस्कार सदस्य र विशिष्ट सदस्यता प्राप्त गरेका व्यक्तित्वहरुलाई प्रमाण– पत्र वितरण गरिएको थियो । यसैगरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई प्रमाण– पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेरेसो बाँके शाखाकी उप–सभापति शान्तिश्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेरेसो पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा कल्याणकारी कोषका लागी रु. ६०१५÷–रुपैया संकलन भएको थियो । राजेन्द्र महतारा, रामभक्त लम्साल, होमराज गिरी लगायतले रकम संकलन गर्नुभएको थियो । कार्यक्रम नेरेसो बाँके शाखाका लेखाअधिकृत झवीलाल शर्माद्वारा सहजीकरण गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २९ चैत्र २०८२, आईतवार २१:१३ बजे