बिरामी छोरीको उपचार गर्न नसक्दा पीडा


राजेन्द्र कार्की
बैसाख १५, जाजरकोट ।

चरम गरीवीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।

साँझ बिहानको हातमुख जोर्न समेत मुस्किल पर्ने परिवारकी   ६ वर्षीया छोरी प्रेमकला ६ वर्षदेखि बिरामी छिन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्ककले सल्लाह दिएका थिए तर जिल्ला बाहिर लैजाने पैसा नहुँदा अपाङ्ग छोरीको रोग पालेर बस्न बाध्य भएको उनले बताए ।

छोरीको उपचार गर्नको लागी गाँउमा ऋण खोज्न पनि कसैले नपत्याएपछि टीके बाध्य भएर भारत गएका छन् । छोरीको उपचारकै लागी मजदुरी गर्न उनी भारत छिरेका हुन् ।

तीन महिनासम्म उनको स्वास्थ्य राम्रो थियो । त्यसपछि एक्कासी बिरामी परेकी प्रेमकलाको उपचार हुन नसक्दा उनी घरमै थलिएकी छन् । छोरीको उपचार खर्च जुटाउन नसकेपछि बाबु टीके कमाई गरेर छोरीको उपचार गर्ने अठोटका साथ तीन महिना अघि भारत गएको आमा शितली परियारले बताइन् ।

बोल्न नसक्ने, आँखा नदेख्ने र उभिन सम्म नसक्ने ती बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सम्म लगिए नि उपचार हुन नसकेको आमा शितलीको भनाई छ । ‘सुविधा सम्पन्न अस्पताल लिएर उपचार गर्न डाक्टरले रेफर गरेपनि पैसा नहुँदा कतै लैजान सकेका छैनौं  आमा शितलीले भनिन् ‘घरमा खाने अन्न छैन । दिनमा दुई छाक पेटभरी खान पाइदैन, छोरीको उपचार कसरी गर्ने ? ’

खानपिनको जोहो गरौ कि विरामी छोरीको स्याहार । मलाई त साह्रै समस्या भयो । यस्तो दुख्ख बैरीलाई पनि आईनलागोस ।’ उनले भनिन् ।

सम्पतिको नाममा सानो खरले खाएको घर र एक रोपनी पाखो जग्गा बाहेक अरु केही छैन । घरमा हुँदा टीकेले ज्याला मजदुरी गरेर परिवारको गर्जो टादै आएका थिए । घरमुली भारत गएपछि अहिले उक्त परिवारलाई छाक टार्न समेत मुस्किल परेको छ । श्रीमान कमाई गर्न भारत गएपछि दुई छोरी र एक छोराको लालनपालनको सबै जिम्मेवारी शितलालाई आइलागेको छ ।

धेरै पैसा कमाएर छोरीको उपचार गर्ने सोचका साथ कालापाहाड हानिएका टीके कहिले फर्किने हुन केही टुङ्गो छैन । उपचारको नाममा गत बर्ष देउता लागेको भन्दै बाख्राको पाठो बलि दिएर पुजा गरेपनि २० को १९ नभएको शितलीको भनाई छ । डाक्टरका अनुसार ती बालिकालाई सानैमा दिमागमा असर भएर मानसिक तथा शारीरिक समस्या भएको हो । अन्नपूर्ण बाट