काठमाडौं । ट्राफिक जरिबाना बढेपछि सडक दुर्घटनासँगै सवारी नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार जेठ १ गतेदेखि नयाँ ट्राफिक जरिबाना रकम लागू गरे यता सवारी नियम मिच्नेहरू तीन गुणा कमी भएको प्रहरीले जनाएको छ ।
जेठ १ गतेदेखि काठमाडौं उपत्यकामा एक हजार ४ सय ८९ जनाले सवारी नियम उल्लंघन गरेका छन् । पुरानो जरिबाना कायम रहेका बेला १९ दिनको अवधीमै ४ हजार १ सय १४ जनाले सवारी नियम मिचेका थिए ।
महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले भने, “ट्राफिक जरिबाना रकम बढाए यता सवारी नियम मिच्नेको संख्यामा तीन गुणाले कमी आएको छ । जरिवाना रकम बढ्नु अघि एक दिनमा हजार देखि २२ सयसम्मले सवारी नियम उल्लंघन गर्ने गरेका थिए । नयाँ जरिबाना लागू भए यता त्यो संख्या ३ सयदेखि ५ सयमा झरेको छ ।”
ट्राफिक जरिबाना बढे यता सडक जाममा पनि सुधार आएको ट्राफिक प्रहरीको भनाइ छ । “पहिलाको तुलनामा चालकहरू समेत अनुशासित हुन थालेका छन्, महानगरीय ट्राफिक महाशाखाका डीएसपी सविन प्रधानले भने, “जरिवाना रकम बढेयता चालकमा पनि केही अनुशासन पलाएको छ । पहिला लापवाही गरि सवारी चलाउने चालकहरू अहिले डराउन थालेका छन् ।”
डीआईजी अर्यालका अनुसार एक जनाको गल्तीले धेरैको ज्यान जाने गरेको छ, तर उनीहरूलाई कारवाही गर्ने कानुन छैन । डीआईजी अर्यालले अगाडि भने, “यात्रु बोकेर हिँड्ने चालकको गल्तीका कारण अरुको ज्यान जान्छ तर चालक सहजै उम्कन्छ, उनीहरूलाई कुनै कारवाही हुँदैन ।”
ट्राफिक महाशाखाको तथ्यांकअनुसार ०६९ असोज १५ यता एक हजार ५ सय ३७ जना सार्वजनिक सवारी चालकलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको छ । दिउँसै मदिरा सेवन गरी सवारी चलाएका कारण सडक दुर्घटना बढेको भन्दै महाशाखाले ०६९ असोज १५ देखि सार्वजनिक सवारी चालकलाई सार्वजनिक मुद्दा चलाउन थालेको डीआईजी अर्यालको भनाइ छ ।
“महाशाखाले मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउनेलाई मात्र सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाउने गरेको छ तर यो सबैमा लागू भएमा सडक दुर्घटना मात्र हैन अन्य समस्या पनि हल हुन्छ,” डीआईजी अर्यालले भने ।



Prawash Kumar Shakya । २१ जेष्ठ २०७३, शुक्रबार १६:०८ बजे