प्रहरीको अनुसन्धानमा मलाई शंका छ: विमल घर्ती मगर


‘दोषीले सजाय नपाए देशका लागि खेल्न अवस्था रहन्न’

Bimal-gharti-magar-home

२१ जेठ, नवलपरासी । घरको ढोका खुल्लै छ । धनमाया ढोकाको एउटा पल्ला समाएर एकोहोरो भित्र हेरिरहेकी छिन् । अँध्यारो अनुहार लगाएका मानिसहरु घरभित्र र बाहिर गरिरहेका छन् ।

फुटबल खेलाडी विमल घर्तिमगरको बर्दघाट- ८ भुताहमा रहेको घरमा पुग्दा देखिएको दृष्य हो यो । छोरीको रहस्यमय मृत्युको बज्रपात सहेकी धनमाया अझै पनि भावविव्हल छिन् । विमल ठूलो बुबाको घरमा सुत्न गएका रहेछन् । घरमा विमलकी धर्म बहिनी र मनिषाकी साथी बसिरहेका थिए । आफन्त, छिमेकी र शुभचिन्तकहरु आउने र सान्त्वना दिएर जाने क्रम चलिहरेको थियो ।

हामी आएको खबर पाएपछि विमल उठेर आए । उनको अनुहारमा बहिनी गुमाउँदाको पीडा त छँदै थियो । उनीसँग राज्यप्रति केही गुनासो र प्रहरी अनुसन्धानमाथि प्रश्न पनि छन् । उनी मात्र होइन, सबै आफन्त मनिषाको हत्या भएको भन्नेमा ढुक्क छन् र प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाइरहेका छन् ।

विमलले हामीसँग बहिनीको मृत्युबारे यसरी मुख खोलेः

पहिलो कुरा यो आत्महत्या होइन, मेरो बहिनी मनिषाको हत्या भएको छ । बहिनी झुन्डिएको स्थानमा आफैं झुन्डिन सक्ने अवस्था छैन । घरमा रहेको पंखा र तल रहेको टेबल देखाउँदै उनले भने, ल आफैं हरेर भन्नुस् पंखा उता छ टेबल यता छ अब कसरी कोही यहाँ आफैं झुन्डिएर आत्महत्या गर्न सक्छ ।

Bimal-Gharti-magar

यती मात्र होइन यस्ता धेरै कुराहरु छन् जसले आत्महत्या नभइ हत्या भएको देखिन्छ । त्यसैले मेरो बहिनीको हत्या भएको हो । र, मेरो बहिनीको हत्या गर्ने जो सुकै भएपनि सरकारले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ ।

मेरो बुबाले देशको लागि लड्नुभयो । म पनि देशकै लागि खेल्दैछु । तर, आज हामी नै सुरक्षित छैनौं भने सरकारले अन्य जनताको घरमा कसरी सुरक्षा दिन सक्छ ? हामी अहिले पनि असुरक्षित महसुस गरिरहेका छौँ । अहिलेसम्म देशको लागि यत्रो गरे तर सरकारले केही गरेन ।

विमलको प्रश्न पनि छ, हामी आफैं सुरक्षित छैनौं भने देशको लागि लडेर के काम ? उनी भन्छन्, दोषीले उन्मुक्ति पाए मैले देशको लागि फुटबल खेल्ने अवस्था रहने छैन ।

विमल मनिषाको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन्, बहिनीको मृत्युको घटनाको अनुसन्धान पनि चलखेल भएको छ । प्रहरीको अनुसन्धान, विशेष गरी प्रहरीले गरेको पोलिग्राफ परिक्षणमा मलाई आशंका लागेको छ । प्रहरी दुई जिब्रे भएका छन् । यता हामीलाई पत्रकारसँग कुराकानी नगर्नुहोला भन्छन्, उता आफू पत्रकार सम्मेलन गर्छन । (पोलिग्राफपछि प्रहरीले गत बुधबार पत्रकार सम्मेलन गरेको थियो) । प्रहरीले हामीलाई पनि पत्रकार सम्मेलनमा सहभागी गराएर घटना र अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी गराउनु पथ्र्यो । तर, हामीलाई केही जानकारी गराउन चाहेन । पत्रकार सम्मेलन भएको दिन बिहान अनुसन्धानबारे बुझ्न हामी आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासीमा गएका थियौं । तर प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै केही जानकारी गराएन ।

बहिनीको मृत्यु कसरी भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आइसकेको भनेर सञ्चारमाध्यमबाट थाहा पायौं । तर, हामीलाई न जानकारी दिइएको छ न रिपोर्ट हेर्न पाएका छौं । घटनाको अनुसन्धानका विषयमा प्रहरीले हामीसँग समन्यव नै गरेको छैन । प्रहरी के गरिरहेको छ, के गरेको छैन हामीलाई केही थाहा छैन । नेपाल कानुन दैवले जानुन् भने जस्तै भएको छ हामीलाई ।

विमल देशका आशलाग्दा युवा फुटबलर हुन् । उनीबाट नेपाली फुटबलले धेरै आश गरेको छ । तर, उनी आफैं बहिनी गुमाएर शोकमा रहँदा सरकार सान्त्वनाका दुई शब्द पनि खर्चिएको छैन । उसमा विमलको गुनासो छ । उनी भन्छन्, घरमा अहिलेसम्म प्रहरी बाहेक सरकार तर्फबाट कोही आएको छैनन् । जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत घरमा आएका छैनन् ।’

धनमाया भन्छिन्ः हत्या नै हो

धनमाया धर्ती मगर, मनिषाकी आमा

१७ वर्षको उमेर पुगेकी छोरी गुमाएकी धनमाया अझै सम्हालिन सकेेकी छैनन् । उनी धेरै बोल्न पनि सक्दिनन् । मनिषाको कुरा गर्‍यो कि उनको आँखा रसाइहाल्छ ।

उनीको पनि विमलकै जस्तो गुनासो छ । उनले भनिन्, ‘प्रहरीले अहिले घटनाको अनुसन्धानबारे हामीसँग समन्वय नै गरेन । छोरा देशको लागि खेलिरहेको छ तर, सरकारले केही गरेको छैन । मनिषा आत्महत्या गर्न निकै डराउने मान्छे हो । मनिषाले आत्महत्या गर्नै सक्दिन यो हत्या नै हो । दोषीलाई कडा कारवाही हुनुपर्छ ।

भोलि विमलको खुट्टा लर्बराउन सक्छः कान्छोबुवा

टेकबहादुर घर्ती मगर मनिषाको कान्छो बुबा हुन् । उनको पनि ठोकुवा छ, छोरी मनिषाले आत्महत्या गर्नै सक्दिनन्, उनको हत्या नै भएको हो । टेकबहादुरले भने, ‘विमलले राष्ट्रका लागि खेलिरहेको छ । यदि यो घटनाको दोषीलाई कारवाही नभए भोलि विमलले गोल गर्न खोज्दा उसको खुट्टा ललरबराउन सक्छ ।

घटनाको दोषीले उन्मुक्ति पाए कानुनदेखि जनताको विश्वास हट्नेछ । गम्भिरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कडा कारवाही गर्नुपर्छ । यस्तो घटनालाई आत्महत्या गराउने हो भने अपराधीलाई प्रोत्साहन मिल्छ ।

साभारः अनलाइन खबर