गाउँपालिकाका जनप्रतिनिधी भारत भ्रमणमा, १९ लाख स्वाह



अविरल ढकाल, जुम्ला
माघ १४
जुम्लाको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली भारत भ्रमणमा गएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । उनीहरुले जनताको रकममा मस्ती नगर्न जनप्रतिनिधीलाई सुझाव दिएका हुन । गाउँगाउँमा सिंहदवार भनेर जनतालाई सुनाउदै आएपनि गाउँका सिंहदरवार जनप्रतिनिधी र कर्मचारीको मस्ती गर्ने थलो बन्दै गईरहेको आरोप स्थानीयको छ ।

संघियताको अवलोकन अध्ययनका लागि भन्दै गाउँपालिकाको साढे ११ लाख रुपैया लिएर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सहितको जम्बो २७ जनाको टोली भारत भ्रमणमा निस्केपछि गाउँपालिका भरी असन्तुष्टी बढेको हो । सरकारी पैसाको दुरुपयोग गरेर भारतको सिक्किम र दार्जिलिङ्ग सम्म भ्रमणमा गएको भन्दै यो अहिलेको आवश्यकता नभएको स्थानीय भिम बहादुर अधिकारीले बताए । उनले भने, “गाउँपालिकावासीको घरमा राम्रो चर्पि र खानेपानीको प्रवन्ध छैन, जनप्रतिनिधी भ्रमणमा ।?”

संघियता भ्रमण अध्ययनका नाउमा गाउँपलिकाका जिम्मेवार पदमा रहेका जनप्रतिनिधी तथा कर्मचारी स्थानीय तहको रकम लिएर घुम्न जानु जनताको करवाट संकलित रकम माथिको दुरुपयोग भएको स्थानीय बताउँछन ।

गाउँपालिकाको सारा बिकासका काम छोडेर भ्रमण गराउनु र गाउँपालिकाको रकम दुरुपयोग गर्नुले हाल गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी माथि नै शंका उत्पन्न हुन थालेको छ ।

सिक्कीम र दार्जिलिङ्गको विकास हेरेर त्यहाँ भएका राम्रो कुरालाई आफ्नो ठाउँमा आएर कार्यान्वयन गर्नको लागि भ्रमणमा गएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

त्यस्तै कनकासुन्दरी गाँउपालिकाका जनप्रतिनिधिले सुटुक्क गरेको कृषि भ्रमणमा ८ लाख रुपैया खर्च गरेका छन् । स्वदेशका अन्य जिल्लामा भैरहेको कृषि खेति प्रणालीको अवलोकन गर्ने र उपयुक्त खेती प्रणाली आफ्नो ठाँउमा लागु गर्ने उद्देश्यले भ्रमण गरिएको गाँउपालिकाले जनाएको छ ।

कार्यवहाक अध्यक्ष रविलाल आचार्यको नेतृत्वमा कर्मचारी सहित १६ सदस्यीय जम्बो जनप्रतिनिधिको टोली सुटुक्क देशको बिभिन्न ठाँउको भ्रमण गरेको थियो । पुस १७ गते भ्रमणमा गएको टोली १ हप्तापछि मात्र फर्किएको थियो ।