१० बैशाख, सुर्खेत । कोरोना महामारीको दोस्रो चरण झन जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउने, कालोबजारी हुने काम रोक्न अनुगमन गरिने भएको छ ।
आज शुक्रवार संयुक्त बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा बसेको बैठकले अविलम्ब संयुक्त बजार अनुगमन गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका बेला दैनिक उपभोग्य बस्तुमाथि अस्वभाविक मूल्य बृद्धि गराउने, कालोबजारी गर्ने, सामान लुकाउने, कृत्रिम अभाव गराउने कार्य हुनसक्ने भएकोले त्यस्तो कार्य रोक्नका लागि अनुमगन गरिने भएको हो । कालोबजारी, कृत्रिम अभावले सीमित व्यापारी मोटाउने भएपनि उपभोक्ताहरु थप पीडामा पर्ने हुँदा त्यस्तो काम रोक्नका लागि अविलम्ब अनुगमन गरिने जनाइएको छ ।
अनुगमनको अगुवाई सम्बन्धित पालिकाहरुले गर्नेछन् । सहायक प्रमुख जिल्ला अधिकारी महतले अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल ठाउँको ठाउँ कारबाही गरिने बताउनुभयो । उहाँले अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।
बैठकमा प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्ट, खाद्य निरीक्षक भेषबहादुर थापा, उद्योग निर्देशक मुकुन्दनाथ योगी, वीरेन्द्रनगर नगरपालिकाका अनुगमन अधिकृत प्रकाश पौडेल, उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकलगायतको उपस्थिति थियो ।



Prawash Kumar Shakya । १० बैशाख २०७८, शुक्रबार १७:५१ बजे