‘भित्ताभन्दा फोहर त वीरको सिस्टम रहेछ’

सीताराम कट्टेल ‘धुर्मुस’को टन्सिल भएर बोली अधुरो निस्किन्छ। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका छन्। समयमै खाना–खाजा खान समेत सचेत गराएका छन्।
आइतबार अपराह्न ४ बजे अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजा समेत खान भ्याइएन।’
केही दिनदेखि वीर अस्पतालमै अड्डा जमाएर बसेका छन् उनी। अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाइ अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु? भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’
त्यसपछि रंगरोगनमा जुटेका उनलाई वीरको समस्याले गाँज्दै लग्यो। उनी हेलिँदै गए। वीर चम्किँदै गएको छ, तर उनको अनुहारमा थकान, जिम्मेवारी र रंगरोगनको खर्च कहाँबाट ल्याउने भन्ने चिन्ता प्रस्टै देखिन्छ।
उनले हालसम्मको खर्च जोड्दा ३९ लाख रुपैयाँ निस्कियो। उनले हिसाब छुट्याए, ‘१९ लाख रुपैयाँको रङ ल्याएको तिर्नै बाँकी छ। रङ लगाउने ८० जनाको हिसाब आजै चुक्ता गर्ने हो भने ३९ लाख रुपैयाँ पुग्छ। तर, अहिललेसम्म ७ लाख रुपैयाँ मात्रै जुटेको छ।’
योजना बनाउँदै बजेट छुट्याएर उनी वीर अस्पताल आएका होइनन्। उनीसँग आँट थियो, घोषणा गरे र अघि बढे। अहिले त्यसको खर्चबर्चको पिरलोमा छन्। उनी भन्छन्, ‘लागेपछि जुका लागे जस्तो गर्ने बानी छ। सहयोगीहरु जुट्दै जान्छन् भन्ने अनुभव पनि छ।’
वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले केही दिनअघि एक अन्तर्वार्तामा भनिदिए, ‘खर्च अस्पतालले बेहोरेको हो। धुर्मुसको त ब्रान्ड मात्रै प्रयोग भएको हो।’ उनले खर्चलाई लिएर पीर दर्शाइरहँदा हामीले यही प्रसंग उप्काउँदै भन्यौं, ‘खर्च त अस्पतालले नै बेहोर्ने कुरा सुनेका थियौं त?’
उनले स्पष्ट पारे, ‘यदि त्यसो गरेको हुँदो हो त निकै खुसी भइन्थ्यो। आगामी दिनमा त्यो निर्णय गर्नुभयो भने स्वागतयोग्य कदम हो। तर, अहिलेसम्म न अस्पतालले खर्च बेहोर्ने निर्णय गरेको छ, न दैनिक लाग्ने खर्च उठाएको छ।’
बैंक अफ काठमाण्डूले यही अभियानका लागि अस्पताल प्रशासन मार्फत दिएको १ लाख रुपैयाँ मात्रै आफूले पाएको उनी बताउँछन्।
दाताकै सहयोगले वीरको रुप फेर्ने यी अभियन्तालाई निर्देशकको उक्त भनाइले चित्त दुखाएको रहेछ। उनले थपे, ‘हामी चन्दा मागेर काम गरिरहेका छौं। अस्पतालको जिम्मेवार व्यक्तिले त्यसो भनेर हिँड्दा हामीप्रति अविश्वास पैदा हुँदैन? दोहोरो असुलेको आरोप लाग्दैन?’
आफूले उधारोमा काम गरेर सहयोगका लागि अपिल गरिरहँदा त्यसो नभनिदिए हुन्थ्यो भन्ने उनलाई लागेको हो। बाँकी अस्पतालको समन्वयकारी भूमिका र सहयोगका लागि उनी आभारी नै छन्।
आफ्नो कार्यालय कसैले सफा गरिदिँदा, सुन्दर बनाइदिँदा वीर अस्पतालका धेरै कर्मचारी खुसी होलान् भन्ने हामीलाई लागेको थियो। तर, अस्पतालमै ११ वर्षदेखि कार्यरत एक कर्मचारीले हाम्रो भ्रम तोडिदिए। उनले भने, ‘हाकिमसा’बहरु खुसी हुनुहुन्न। रंगरोगनका लागि बजेट बनाएर कमिसन खाने बाटो बन्द भयो भन्ने पीर छ।’
उनले थपे, ‘धुर्मुस सरहरुले भित्ता रंग्याउँदै हुनुहुन्छ। यही बहानामा राम्रै अवस्थामा रहेका टेबल, कुर्सी र कार्पेट समेत फेर्ने काम अस्पताल व्यवस्थापनबाट हुन लागेको छ।’
खाजा खाइसकेपछि धुर्मुस काममा खटिएका कर्मचारीलाई हौस्याउन बाहिर निस्केका मात्रै के थिए, एक हुल महिलाको समूहले घेर्यो। उनीहरु सरसफाइ कर्मचारी रहेछन्। वर्षौंदेखि मनमा पालेका दुःखहरु एकएक गरी बिसाए। धुर्मुसले १५ मिनेट सुनिदिए। अझै कुरा नसकिने संकेत देखेपछि लेखेर ल्याउन भन्दै उनी रङ लगाइरहेको ठाउँतिर लागे।
जाँदै गर्दा उनले भने, ‘भित्ता मात्रै रंग्याएर वीर राम्रो बन्दैन। भित्ताभन्दा फोहर त यहाँको सिस्टम रहेछ।’
उनलाई दिनदिनै कोही न कोहीले केही न केही अस्पतालभित्रका ‘अनियमितता’का प्रमाण पेश गरिरहेका छन्। उनी संकलन गर्दै गइरहेका रहेछन्। फाइलको पोको देखाउँदै भने, ‘हामी अब राम्रो बनाऔं भनेर लागेका छौं। त्यसैले विगतका कुराभन्दा भविष्यका कुरा गर्न चाहन्छौं। केही लागेन भने मात्रै विगतका कुरा कोट्याउँला।’
वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्छ, ‘बिरामीहरु अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला?’
बाहिरी वातावरण उनले सफा गरिरहेका छन्। भित्र सफा गर्न त सरकार नै अगाडि बढ्नुपर्छ। यसमा ध्यान पुग्ला त सरकारको?
स्वास्थपत्रिकाअनलाइनबाट



Milan Shrestha । १४ जेष्ठ २०७५, सोमबार १६:४६ बजे