महिना दिनभित्र जलविद्युत विकास कम्पनीको सेयर प्रमाणपत्र


१२ चैत, काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरको प्रमाणपत्र महिनादिन भित्रै वितरण गर्ने भएको छ ।

कम्पनीले गत कात्तिक कात्तिक १२ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयरमा ३ लाखभन्दा बढी सर्वसाधारणले लगानी गरेका थिए । कम्पनीले सेयर निष्काशन गरेको ६९औं दिनमा सेयरको बाँडफाँड गरेको थियो ।

आगामी महिनादिनभित्र कम्पनीले सर्वसाधारणलाई सेयरधनी प्रमाणपत्र वितरण गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले अनलाइनखबरलाई बताए ।

‘प्रमाणपत्र छापिइरहेको छ, महिनादिनभित्र सेयरधनीले आफ्नो प्रमाणपत्र पाउँछन्,’ रौनियारले भने ।

पाँच सय कित्तासम्म लगानी गर्ने एक लाख ९५ हजार २०३ जना साना लगानीकर्तालाई ११।४० प्रतिशतले हुने ७४ लाख ५० हजार ६०३ कित्ता सेयर वितरण गरिएको छ । त्यसै गरी, ५०० कित्ताभन्दा बढी आवेदन दिने एक लाख नौ हजार ४ सय ३१ जना र अन्य लगानीकर्तालाई २।९० दरले एक करोड ११ लाख ७५ हजार ९०५ कित्ता गरी जम्मा तीन लाख चार हजार ६५२ आवेदकलाई सेयर वितरण गरिएको हो ।

कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता सेयर आवेदन गर्नेले १० कित्ता पाएका थिए । त्यसैगरी, ५०० कित्ता आवेदन गर्नेले ५६ कित्ता सेयर पाएका थिए भने ५० लाख कित्ता सेयर आवेदन दिनेले १लाख ४४ हजार ८ सय १८ कित्ता सेयर पाएका थिए ।
साभारः अनलाईन खबर ।