कमजोर शिक्षकका कारण सिकाई स्तर खस्कियो


असार ६, काठमाडौं ।

विद्यालय स्तरको खस्कदो सिकाई उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाई सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुको आग्रह थियो ।

आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने ?’ विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्राइएका बालबालिकाहरुको गुणस्तरीय शिक्षण सिकाइ तर्फ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै, शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्कालाई लगाउन छाडेर संयुक्त रुपमा सिकाइ सुधारको पहल हुनुपर्ने बताए । ‘अब शिक्षा विग्रियो भने तह लगाउने कसले ? प्रअ को जिम्मेवारी, कि स्थानीय तहको कि विव्यसको ? कसले गर्ने हो एउटा टुंगो लगाउनु पर्छ ।’ कोइरालाले भने ।

शिक्षकको योग्यताको आधारमा वर्गिकरण गरी उत्कृष्टलाई पुरस्कृत र सम्मानका साथै, कमजोर शिक्षकलाई तत्काल हटाउनुपर्नेमा कोइरालाको जोड थियो । विद्यार्थीको सिकाइ सुधारका लागि स्थानीय सरकारलाई क्रियाशील बनाउनु पर्ने साथै, उदार कक्षा नीतिको पुनर्मूल्यांकन गर्नुपर्नेमा उनको जोड थियो ।

शिक्षाविद गंगाराम गौतमले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मकै सिकाइ उपलब्धि चिन्ताजनक देखिएको भन्दै त्यसको पहिलो जिम्मेवारी पढाउने शिक्षकले नै लिनुपर्ने बताए ।

आफुले एकपल्ट अनुगमन गर्दा विश्वविद्यालयका १०० जना अंग्रेजी अध्ययन गरिरहेका विद्यार्थी मध्ये ९० जनाको सिकाइ अवस्था कमजोर देखिएको अनुभव सुनाउँदै गौतमले शिक्षकहरुले विद्यार्थीलाई ४५ सालकै शिक्षण सिकाइ गरिरहेको आरोप लगाए ।

‘अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ । त्यतिबेला नोट गराइन्थ्यो अहिले पावर प्वाइन्टमा देखाइने रहेछ ।’ उनले भने – ‘२० वर्ष अघिको समाजशास्त्रको प्रश्न पत्र र अहिले सोधिने प्रश्न पत्र एउटै छ । शिक्षक तयारी पार्नै सकेका छैनांै । विद्युतीय हाजिरीले यसमा सुधार आउँदैन ।’

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकार भर्ना अभियानमा मात्रै केन्द्रित हुँदा सिकाइ सुधारमा खासै केन्द्रित हुन नसकेको स्वीकार गर्दै दोस्रो चरणको भर्ना अभियान पश्चात् सिकाइ सुधारका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे ।

केही विद्यालयहरुले आफ्नै पहलमा सुधार गरेपनि धेरै जसोका सिकाइ कमजोर रहेकाले अब भर्ना अभियानलाई विद्यार्थी टिकाइ र सिकाइ अभियानमा रुपान्तरण गर्ने तयारी भइरहेको पौडेलले बताए । राम्रा गर्ने शिक्षकहरुको अनुभव अनुसार नै अबको शैक्षिक रणनीति अघि बढाउन विभाग सकारात्मक रहेको उनको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सरकारले २०३९ देखि शुरु गरेको सिकाइमा सुधार, पहुँचमा सुधार, क्षमता विकास गर्ने नारा २०७५ सालमा पनि केही नबदलिएको दुखेसो गरे । भाषा सजिलो बनाउँन खोज्दा विद्वानहरुले नदिएपछि सिकाइ घट्ने नै भयो भन्दै बरालले नेपाली भाषा परिवर्तन जायज भएको दावी गरे । शिक्षकले मिहिनेतका साथ राम्रो पढाइदिने हो भने रुखमुनी पढाएपनि उपलब्धि बढ्ने जिकिर गर्दै बरालल कमजोर शिक्षकका कारण सिकाइ कमजोर बनेको आरोप लगाए । बरालले सक्षम शिक्षक उत्पादन र विकासमा सरकार लाग्ने स्पष्ट पारे ।

कार्यक्रममा शिक्षा पत्रकार समुहकी अध्यक्ष रोश्ना सुब्बाले निरन्तर घटिरहेको सिकाइस्तरको विश्लेषण र धनुषा जिल्लाको अध्ययन सामाग्री प्रस्तुत गरेकी थिइन् । त्यस्तै आसमान नेपालकको तर्फबाट राधा कोइरालाले धनुषाको सिकाइसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई सिकाइ समुहका प्रमुख सूदर्शन घिमिरेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद एवं नेकपाका नेता रामकुमार शर्मा, विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय जनता पार्टीका नेता ईश्वर पण्डित, सेभ द चिल्डरेनका जनक पन्त, आजका शिक्षा साप्ताहिकका सम्पादक सूदर्शन सिग्देल, शिक्षा अनुसन्धानकर्ता विवेक लुइटेललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।