दुईदिने कर्णाली प्रदेशस्तरीय शैक्षिक मेला सम्पन्न


फाईल तस्विर ।

सुर्खेत,०९ आषाढ । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको दुईदिने कर्णाली प्रदेशस्तरीय शैक्षिक मेला सम्पन्न भएको छ । शनिबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले मेलाको समापन गरेका हुन् । अधिकारी ले यस्ता प्रदर्शनी कार्यक्रमको लागि प्रदेश सरकारले स्थायी प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । २५ वटा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुका प्रदर्शनी स्टलमार्फत विभिन्न सूचना र परामर्श प्रदान गरिएको मेला आयोजक बीवान ग्रुप अफ कम्पनीका सञ्चालक त्रिभुवन ढकालले बताए ।
कर्णाली प्रदेशका अभिभावक र विद्यार्थीहरुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सूचना र परामर्श दिने उद्देश्यले आयोजना गरिएको मेलामा पुस्तक प्रदर्शनी र कर्णालीका लेखकहरुका कृतिहरु पनि अवलोकनका लागि राखिएको थियो । दुईदिने मेलाको विद्यार्थी, शिक्षक तथा अभिभावकहरु गरी तीन हजार बढीले अवलोकन गरेका छन् । मेला आयोजक समितिका संयोजक तथा साहारा एजुकेशनका सञ्चालक प्रेम सापकोटाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई बृहत बनाउनका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
शिक्षाको गुस्तर सुधारका लागि आवश्यक पर्ने कार्यक्रमका लागि बाहीरबाट विज्ञहरुलाई ल्याएर सुर्खेतमा भेला तथा सम्मेलनको आयोजना गर्नका लािग समेत आफुहरुले योजना बनाइरहेको उनको भनाइ छ ।