कर्णेल लामाविरुद्ध लण्डनमा सुनुवाइ सुरु


लण्डन- सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा विरुद्धको मुद्दामा लण्डनमा सुनुवाइको प्रकृया शुरु भएको छ।

सोमबार बिहान साढे दशबजे ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा सुनुवाइसंबन्धी प्रकृया शुरु भएको थियो। गत वर्ष सोही अदालतमा नेपाली दोभाषे नपाइएको भन्दै सुनुवाइ शुरु नै नभै स्थगित भएको थियो। यसपटक सुनुवाइ झण्डै दुई महिना चल्ने र फैसला पनि सुनाइने अपेक्षा गरिएको छ। स्रोतका अनुसार उक्त सुनुवाइ बेलायती समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरु रहेको एउटा जूरी (निर्णायक समिति) भित्र लन्डनस्थित ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा हुन लागेको हो।

बेलायतले लामा माथि संयुक्त राष्ट्र संघको यातना विरुद्धको महासन्धि अन्तर्गत, अन्तर्राष्ट्रिय क्षेत्राधिकार उल्लंघन गरेको आरोप लगाएको छ तर लामाले ती आरोपहरुलाई अस्वीकार गर्दै आएका छन्। संघको यातना विरुद्धको महासन्धिमा आफ्नो मुलुक बाहिर यातनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरुलाई पनि पक्राउ गरी मुद्दा चलाउन सक्ने प्रावधान राखिएको छ । बेलायती अदालतमा निकै लोकप्रिय मानिने त्यस्तो जुरीमा बढी ११ सदस्सीय हुने गर्दछ ।

दुईसाता अघि बेलायत भ्रमणमा आएका उपप्रधानमन्त्री थापाले डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायन र बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरसंगको भेटमा लामालार्इ मुक्त गर्न बेलायत सरकारलाई आग्रह गरेका थिए । प्रति उत्तरमा बेलायती अधिकारीहरुले जुन महिनासम्म प्रतिक्षा गर्न जवाफ दिएका थिए । यसअघि गत सप्टेम्बर महिनामा हुने भनिएको सुनुवाइ दोभासेको अभावका कारण स्थगित गरिएको थियो। सुडान मिसनमा कार्यरत रहेको बेला उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए । पछि उनलाई धरौटीमा रिहा गरिएको थियो। दोषी पाइएमा लामालाई २० वर्ष सम्मको जेल सजाय हुनसक्छ।

साभारः नागरिक अनलाइन