१२ चैत, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधानको चीनले स्वागत गरेकोमा विरोध जनाएका छन् । मधेसी मोर्चाका नेतासमेत रहेका महतोले चीनले संविधानको स्वागत गरेकोमा आपत्तिसमेत जनाए ।
‘दुई तिहाइ जनताको अधिकार कुन्ठित हुने गरी बनेको संविधानको स्वागत गर्नु जनताकै विरुद्ध हो,’ महतोले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यसलाई कसरी राम्रो मान्नु ।’
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि मधेसी मोर्चाका नेताहरुले चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेर आफ्ना आन्दोलन र मागबारे ध्यानाकर्षण गराएका थिए । साथै माग सम्बोधनका लागि कूटनीतिक दबाव दिन आग्रह गरेका थिए ।
तर, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ ।
मधेसी मोर्चाका नेताहरुले बिहीबार मात्र भारतीय राजदूत रणजित रायलाई भेटेका थिए । भारतीय राजदूतलाई भेटेको भोलिपल्ट चीनको किन विरोध गरेको भन्दै प्रश्नमा महतोले भने, ‘होलीको शुभकामना दिन मात्र भारतीय राजदूतलाई भेटेका हौं । राजनीतिक कुरा भएन ।’
साभारः अनलाइन खबर



Milan Shrestha । १२ चैत्र २०७२, शुक्रबार १२:११ बजे