प्रहरीले नै यसरी चढ्छन् चोरीका मोटरसाइकल


सुर्खेत, १५ वैशाख (जागरण) । सुर्खेतमा प्रहरीले नै चोरीका मोटरसाइल चलाउने गरेको भेटिएको छ । 
प्रहरीहरुले नै चोरीको मोटरसाइल चलाएका भन्दै एनेकपा (माओवादी) को युवा संगठन योङ्ग कम्यूनिष्ट लीग (वाईसिएल) ले वीरेन्द्रनगरबाट चोरीका मोटरसाईकल जफत् गरेको छ । मोटरसाइलसहित नियन्त्रण गरिएका प्रहरीलाई भने वाइसिएलले आजै छाडिदिएको छ ।
चोरीका मोटरसाईकल चलाइरहेको सूचना पाएपछि वाईसिएल वीरेन्द्रनगर नगर कमिटीले रंगेहात पक्राउ गरेको हो ।  वाईसिएलले बर्दिया गुलरिया–५ घर भएका रविन्द्र खत्री र गुलरिया नै घर भएका वीरबहादुर ताउलेबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । 
उनीहरुका साथबाट चोरीका भे ४ प ४७१२ र भे ४ प ११४४ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको हो । 
वाईसिएलको टोलीले सुब्बाकुनाबाट पिछा गर्दै वीरेन्द्रनगर–६ हटियालाई लाईन नजिकबाट नियन्त्रणमा लिएको हो । खत्री र ताउलेले क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भएको बताएका छन् ।
मोटरसाईकल लिएर आएका खत्री र ताउलेले आफूहरु प्रहरी भएको भन्दै छोडिदिन आग्रह गरेका थिए । नियन्त्रणमा लिइएका उनीहरुले आफ्नो जागिर बचाइदिन भन्दै घटना सार्वजनिक नगर्न आग्रह गरेपनि आफूहरुले मोटरसाईकल सार्वजनिक गरेको जनाएको छ ।
वाईसिएलले मोटरसाइकल सार्वजनिक गर्न ट्राफिक प्रहरी, नगर प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराउँदा पनि प्रहरीले पनि मोटरसाइकल लिन मानेको छैन । पत्रकार कै रोहबरमा मोटरसाइकल सार्वजनिक गर्ने भनिएपनि प्रहरी नआएपछि पत्रकारको रोहबरमा मोटरसाईकल सार्वजनिक गरिएको छ । 
मोटरसाइकल सार्वजनिक गर्ने क्रममा वाईसिएल सुर्खेतका संयोजक अम्मर चन्दले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठलाई जानकारी गराउदा रेस्पोन्स नगरेको बताउनुभयो ।
प्रहरी मोटरसाईकल र नियन्त्रणमा लिइएका प्रहरी जवानलाई सार्वजनिक गर्ने बेला नआएकोले अहिले मोटरसाइकल वाईसिएलकै नियन्त्रणमा रहेको र प्रहरी जवानसंग भएका लाईसेन्स र प्रहरी जवान भएको प्रमाणपत्र पनि राखेर उनीहरुलाई छोडिएको वाईसिएलले जनाएको छ । 
प्रहरी जवान रविन्द्र खत्रीले वाईसिएललाई दुईवटा परिचय पत्र देखाएका थिए । एउटा आफ्नै नामको थियो भने अर्का महादेव भट्ट नाम रहेको प्रहरी सहायक निरीक्षकको परिचयपत्र देखाएका थिए । फोटो नभएको यो परिचयपत्र देखाएपछि वाईसिएलले उनीहरुका परिचयपत्र पनि नियन्त्रणमा लिएको छ । 
यसैबीच, मोटरसाईकल नियन्त्रणमा लिइएका प्रहरी जवानहरुले बुधबार विहानै अन्य प्रहरी जवानहरुसहित एमाओवादी पार्टी कार्यालयमा आएर वाईसिएललाई धम्कीसमेत दिएका थिए । 
उनीहरुले चोरीका मोटरसाइकलहरु नियन्त्रणमा लिएर आउने क्रममा आफूहरुलाई वाईसिएलले नियन्त्रणमा लिएको भन्ने बनाएर उल्टो कार्वाही गर्ने चेतावनी दिएका थिए ।
यस विषयमा जागरणसँग कुराकानी गर्दै मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) माधव नेपालले घटनाबारे छानवीन गर्ने बताउनुभएको छ । उहाँले मोटरसाइकलको त्यसरी दुरुपयोग भएको भेटिएमा जो कोहिलाई पनि कारबाही गर्ने बताउनुभयो । 
अहिले बर्दियामा रहेको बताउने डिआइजी नेपालले सुर्खेत फिर्ता हुनासाथ छानवीन शुरु गर्ने बताउनुभयो ।
सभा र ः जागरण एफ एम अनलाइन