१९ असार, सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सरकार, सदन र प्रतिपक्षबीच सहकार्य जरुरी रहेको कर्णालीका मन्त्रीले बताएका छन् । सोमबार कर्णाली प्रदेश सभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्रीहरूले सबै क्षेत्रको सहकार्यबाट मात्र प्रदेशको विकास सम्भव हुनेमा जोड दिए ।
सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको सीमित स्रोत र साधनबाट कर्णाली समृद्धिको अभियान पूरा नहुने बताए । प्रदेशलाई समृद्ध बनाउन कर्णालीका जनतालाई ऋणको भारी बोकाउने साहस सरकारले गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले साँच्चै समृद्धिको सपना पूरा गर्ने हो भने कर्णालीवासीलाई ऋणको भारी बोकाउने आँट गर्नुपर्छ,’ उनले भने ।
सरकारले आवश्यकता र औचित्यका आधारमा बजेट र योजना छनोट गरेको दाबी उनको थियो । मुख्यमन्त्री शाहीले प्रदेशले निजी लगानी भित्र्याउने र संघीय सरकारसंँग थप अनुदानका लागि पहल गर्ने बताए । ‘कर्णाली प्रदेशको विकासका लागि थुप्रै सम्भावना छन् । तर, सबै सम्भावनाकोे पहिचान हुन सकेको छैन,’ उनले भने, ‘अब सरकारले कर्णाली विकासको गुरुयोजना बनाएर काम अघि बढाउँछौँ ।’
बजेट कार्यान्वयनमा जोड
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट कार्यान्वयनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले सरकारले ल्याएको बजेट उत्पादनमुखी भएको दाबी गरे । ‘सांसदहरूबाट बजेट दुरुपयोग हुने विषयमा चिन्ता गर्नुभएको छ’ उनले भने, ‘सरकार बजेट दुरुपयोग हुन नदिन गम्भीर छ, यसमा ढुक्क हुनुहोस् ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आगामी पुस्ताका लागि पनि वर्तमान पुस्ता महत्वाकांक्षी बन्नुपर्ने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले भौगोलिक विकटता, संस्थागत संरचनाको अभाव तथा असीमित आवश्यकताका कारण सांसदहरूका सबै माग सम्बोधन हुन नसकेको तर्क गरे । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालगायतले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए ।
इनयाँपत्रिकाअनलाइनबाट



Milan Shrestha । १९ असार २०७५, मंगलवार ०३:४२ बजे